महराको गल्तीमा आफूलाई सजाय दिन खोजेको उपसभामुखको गुनासो, मन्त्री पदसँग नसाँटिने

प्रकाशित मिति:

काठमाडौं – उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले निवर्तमान सभामुख कृष्णबहादुर महराको गल्तीमा आफूलाई समेत सजाय दिन खोजिएको गुनासो गरेकी छिन् । यौन दुराचारको आरोपमा महरा पदबाट बाहिरिएपछि पार्टीले आफ्नो पद खोस्न खोजेको उनको गुनासो छ । मन्त्री पदसँग उपसभामखु साँट्न खोजिएको भन्दै उनले आपत्ति जनाएकी छिन् ।

संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्छ। यस्तोमा महराले पद छाडेपछि नेकपाले उपसभामुख पद समाजवादी पार्टीलाई दिएर नयाँ सभामुख आफ्नै दलको राख्ने तयारी गरेको छ। नेकपाको यो तयारीपछि त्यही दलबाट निर्वाचित तुम्बाहाम्फेलाई मन्त्री बनाउने प्रधानमन्त्रीको योजना छ । प्रधानमन्त्री मन्त्रिपरिषद् हेरफेरको तयारीमा छन् । उपसभामुख तुम्बाहाम्फेलाई यही आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएर सम्भावित विकल्पबारे छलफल गरेका छन्। सरकारी निवास बालुवाटारमा बोलाएर ओलीले उपसभामुखको ‘मुड’ बुझ्न खोजेको स्रोतले दाबी गरेको छ। अध्यक्ष प्रचण्डले पनि छलफल गरेका छन् । दुवै अध्यक्षको निष्कर्ष तुम्बाहाम्फेलाई मन्त्रीमा स्थान्तरण गर्ने रहेको स्रोतले बतायो ।

उपसभामुख तुम्बाहाम्फेले भने महराले गरेको गल्तीको दोष आफूलाई थुपारेर ‘बलिको बोको’ नबनाउन नेताहरूलाई आग्रह गरेकी छन्। ‘महराको गल्तीको दोष मलाई नदिइयोस्, एउटाले गरेको गल्तीको दोष मैले किन भोग्ने ?’, उपसभामुखले नेताहरूसँग प्रश्न गरेकी छन्, ‘प्रदेश र संघीय संसदमा पुरुष सभामुख छन्। उपसभामुख महिला छन्। संघीय संसदमा अब सभामुखको पहिलो दाबी मेरो हुनु स्वभाविक पनि हो।’ उनीनिकट एक सहयोगीका अनुसार तुम्बाहाम्फे मन्त्री नखाने मुडमा छिन् ।