किन बयान दिन मानेनन् महरा ?

प्रहरी भन्छ- प्रमाणले अभियोग पुष्टि गर्छौं

प्रकाशित मिति:

काठमाडौं – यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले प्रहरीलाई बयान दिन अस्वीकार गरेका छन् । प्रहरीले पटक–पटक महरालाई साविती बयानका लागि आग्रह गरे पनि उनले अस्वीकार गरेका हुन्  अनुसन्धानमा संलग्न एक उच्च प्रहरी अधिकारीले भने, ‘‘हामीले उहाँलाई अस्पतालकै बेडमा गएर पटक–पटक बयानका लागि आग्रह गर्यौं तर उहाँले बोल्दिन भन्नुभएको छ । संविधानले नबोल्ने अधिकार दिएको पनि छ । तर प्रमाणबाट हामीले उहाँले यौन दुर्व्यवहार गरेको पुष्टि गर्छौं ।’’ महरालाई आइतबार फेरि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइनेछ । शनिबारसम्ममा महराले बयान दिन सक्ने अवस्था अन्त्य भइसकेको छैन । ती प्रहरी अधिकारीले भने, ‘‘बयानमा जबरजस्ती गर्ने कुरा भएन । बोल्ने–नबोल्ने उहाँको स्वतन्त्रताको कुरा हो ।

कुनै पनि अभियुक्तले अदालतमा बयान दिन्न भन्न पाउने व्यवस्था फौजदारी कानुनले नै सुरक्षित गरेको छ । मौनताको अधिकार फौजदारी न्यायको सिद्धान्तमा सामान्य मानिने वरिष्ठ अधिवक्ता यदुनाथ खनाल बताउँछन् । नेपालको संविधान र मुलुकी फौजदारी संहिताले पनि कुनै अभियुक्तलाई आफ्नो विरुद्ध साक्षी हुन बाध्य पार्न नमिल्ने व्यवस्था रहेको उनले बताए । संविधानको भाग ३ मा रहेको मौलिक हकअन्तर्गत धारा २० ९७० मा ‘ कुनै कसूरको अभियोग लागेको व्यक्तिलाई आफ्नो विरुद्ध साक्षी हुन बाध्य पारिने छैन,’ उल्लेख छ । त्यस्तै मुलुकी अपराध संहिता,०७४ को परिच्छेद २ मा फौजदारी न्यायका सामान्य सिद्धान्तसम्बन्धी व्यवस्था छ । जसको दफा ११ मा आफ्नोविरुद्ध साक्षी हुन कर नलाग्नेः कुनै कसूरको अभियोग लागेको व्यक्तिलाई आफ्नो विरुद्ध साक्षी हुन कर लाग्ने छैन’ भन्ने व्यवस्था छ । वरिष्ठ अधिवक्ता खनालले अभियुक्तले बयान दिन्न भन्दैमा मुद्दा अघि बढाउन भने फरक नपर्ने स्पष्ट पारे । “अभियुक्तले नबोल्दा मुद्दा कमजोर वा बलियो हुने भन्ने हुँदैन । मौन बस्न पाउने उसको अधिकार नै हो । तर, त्यसले मुद्दा अघि बढाउन केही फरक पर्दैन,” उनले भने ।

साविती बयान नदिए पनि अनौपचारिक रुपमा भने महराले आफू पीडित भनिएकी रोशनी शाहीको कोठामा गएको प्रहरीसँग स्वीकार गरेका छन् । तर, आफूले कुनै प्रकारको दुर्व्यवहार नगरेको दाबी महराको छ । महरामाथि संसद सचिवालयमै कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि असोज १२ गते उनकै कोठामा गएर यौन दुर्व्यवहार गरेको आरोप छ । रोशनीले आफूमाथि महराले यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दर्ता गरेपछि महरा पक्राउ परेका हुन् । पक्राउअघि नै उनले सभामुखबाट भने राजीनमा दिएका थिए । अदालतबाट म्याद लिएर प्रहरीले महरामाथि अनुसन्धान गरिरहेको छ । महरालाई काठमाडौं जिल्ला अदालतले थुनामै राखेर अनुसन्धान गर्न १३ दिनको समय मंगलबार दिएको थियो । महरा असोज १८ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए ।

महराको स्वास्थ्यमा समस्या देखिएपछि उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । महरा बा २० च ५७११ नम्बरको सिल्भर कलरको गाडी चढेर रोशनीको कोठामा पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले रोशनीको कोठाबाट महराको भनिएको चश्मा, जुत्ताको सोल लगायतका सामग्री बरामद गरेर फरेन्सिक चेकजाँचका लागि पठाएको छ । यस्तै रोशनीको शरीरमा लागेको चोटको समेत परीक्षण गरिएको छ । परीक्षणका क्रममा रोशनीको शरीरमा देखिएको चोट अन्य व्यक्तिबाट लागेको पाइएको छ । त्यो चोट महराको हातबाट लागेको हो वा अन्यबाट भन्ने खुलेको छैन । – बाह्रखरी बाट