काठमाडौं – दशैंको बिदालगत्तै राहदानी लिने सेवाग्राहीको संख्या ≈वात्तै बढेको छ। अमेरिकी इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई–डीभी)को फर्म भर्न पासपोर्टको नम्बर अनिवार्य गरिएसँगै राहदानी विभागमा सेवाग्राहीको भीड बढेको हो। डीभी फर्म भर्दा पासपोर्ट नम्बर, जारी भएको देश र राहदानीको म्याद समाप्त हुने मिति समावेश गर्नैपर्ने भएपछि गत सातादेखि सेवाग्राहीको संख्या बढ्न थालेको विभागले जनाएको छ।
‘गत साताको सोमबारदेखि सेवाग्राहीको चाप निकै बढेको छ’, विभागका निर्देशक तीर्थराज अर्यालले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘कारण यही हो भनेर हामीले सर्वेक्षण गरेका त छैनौं, हाम्रो अनुमान पनि डीभी नै हो।’ अमेरिकाले गत असोज १५ गते बुधबार मध्यराति १२ बजेबाट लागू हुने गरी सन् २०२१ का लागि ई–डीभीको आदेवन खुला गरेको छ। यही कात्तिक १९ गते राति १० बजेर ४५ मिनेटसम्म ई–डीभीका लागि आवेदन दिन सकिने र यसका लागि राहदानी अनिवार्य गरिएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।
डीभीका अतिरिक्त बन्द रहेको मलेसिया रोजगार पुनः खुलेकाले र विदेशमा अध्ययन गर्न जाने विद्यार्थीका कारणले पनि अहिले सेवाग्राहीको संख्या बढेको हुनसक्ने अर्यालको ठहर छ। दशैंअघि विभागमा दैनिक करिब आठ सय सेवाग्राहीले आवेदन दिने गरेकामा त्यो संख्या तेब्बरभन्दा बढी पुगेको छ। राहदानीका लागि आइतबार दुई हजार सात सय २६ जनाले आवेदन दिएकोमा सोमबार पनि दुई हजारभन्दा बढीको आवेदन प्राप्त भएको अर्यालले बताउनुभयो।बिहान १० देखि दिउँसो १ बजेसम्म विभागको अनलाइन सिस्टममा प्राविधिक गडबढी आएपछि बैंक शुल्क तिर्न र अन्य सेवा लिन समस्या भएपछि सुरक्षाकर्मीले सेवाग्राहीलाई संयमित बनाउन निकै हम्मेहम्मे परेको थियो।
सेवाग्राहीको चाप बढेसँगै आज मंगलबारदेखि टोकन प्रणाली अनिवार्य गर्दै एक हजार पाँच सयका हाराहारीमा मात्रै आवेदन लिने विभागको तयारी छ। एक अर्को मुलुकमा यात्रा गर्न मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य गरिएसँगै नेपालले सन् २०१० डिसेम्बर २६ तारिखदेखि एमआरपी सेवा आरम्भ गरेको थियो। त्यसयता ६० लाख ९४ हजारभन्दा बढी एमआरपी जारी भएको विभागको तथ्यांक छ। पछिल्लो तथ्यांकअनुसार एमआरपी लिने नेपाली महिला ११ लाख ७१ हजार दुई सय २२ पुगेका छन् भने ४९ लाख २२ हजार ८ सय २७ पुरुषले एमआरपी लिएका छन्। ‘अन्य’ लि·का एमआरपी सेवाग्राहीको संख्या ३१ पुगेको विभागले जनाएको छ। यो खबर नेपाल समाचारपत्रमा टीका बन्धनले लेख्नुभएको छ ।









