खानेपानी पाइप मर्मतका लागि सेना परिचालन

प्रकाशित मिति:

गलकोट- बागलुङ बजारमा वितरण भइरहेको खानेपानी पहिरोका कारण अनियमित भएपछि सेनाको सहयोगमा मर्मत कार्य शुरु गरिएको छ । गत असोजको वर्षाले बागलुङ नगरपालिका–३ बोक्सेमा गएको पहिराले बागलुङ बजारमा आउने खानेपानीको पाइप बगाएपछि खानेपानीको आपूर्ति नियमित हुन सकेको छैन ।ठूलो पहिरो भएका कारण तत्कालै मर्मत कार्य गरे पनि पटकपटक पाइप फुट्न थालेपछि व्यवस्थित तरिकाले मर्मत थालिएको हो । मर्मतमा लागि २३ नम्बर सैनिक अड्डा सेराडिल ब्यारेक बागलुङमा रहेका नेपाली सेनाको सहयोग ल्याइएको बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले जानकारी दिए ।

कर्मचारीले मात्र ठूलो काम गर्न समय लाग्ने भएका कारण सेनाको सहयोग मागिएको खानेपानी उपभोक्ता संस्थाले जनाएको छ । पहिरोले पानीको पाइप बगाउँदा बजार क्षेत्रभित्र पर्याप्त पिउने पानी उपलब्ध गराउन समस्या हुँदै आएको उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले बताए ।