भवानी अधिकारी /स्याङ्जा-नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले बेला बेलामा शुसासनका निम्ति प्रतिवद्धता जनाउने प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान एकमना सरकार हुदा समेत जनअपेक्षित काम गर्न नसकेको बताउनुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति स्याङ्जाद्धारा शुक्रवार पुतलीबजार नगरपालिका १ अभियापनपथ स्थित पार्टी कार्यालय आयोजित दशैं, तिहार, नेपाल सम्बत छठ, इद, ल्होसारको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमको उदघाटन गर्दै उहाँले ठूल्ठूला भ्रष्टाचारजन्य कसुरमा आरोपित ठूला माछाहरु फुत्काउदै जाँदा ससाना माछा पनि फुत्केर गएको बताउनुभएको हो ।

‘मुलुकमा ठूल्ठूला घटना घटेका छन् । बालुवाटार जग्गा प्रकरण, ३३ क्विन्टल सुन, वाइडवडी प्रकरण र हत्या, हिंसा, बलात्कार लगायतका जघन्य घटनाका आरोपितलाई कानूनी कारवाही गर्न सरकारले नै चासो राख्दैन ।’ उहाँको भनाई छ । पूर्व उपप्रधान एवं पूर्व उपसभापति समेत रहनु भएका श्रेष्ठले भन्नुभयो ‘जो सुकै भएपनि कानूनी कारवाही को दायरामा ल्याउन जरुरी छ । कारवाही गर्नुहोस् । ’










