काठमाडौं– सल्यानमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा परी बागचौर नगरपालिका १२ का ८ वर्षीया ललिता डाँगी, ६ वर्षीय ललित डाँगी र ४ वर्षीया मेनुका डाँगीको मृत्यु भएको हो। आमाबुवा गाई दुहन गोठमा गएका बेला आइतबार साँझ पहिरो खस्दा घरभित्र खेलिरहेका बालबालिकाको ज्यान गएको प्रहरीले जनाएको छ।












