न्युयोर्क — अमेरिकी सेनाले इस्लामिक स्टेटका नाइके इस्लामिक स्टेट आर्ईएस प्रमुख अबु बकर अल–बगदादीलाई मार्न आफूले गरेको कारबाहीको दृश्य सार्वजनिक गरेको छ । सेनाले सार्वजनिक गरेको भिडियोमा स्थल कारबाहीका लागि बगदादी लुकेर बसेको स्थानतर्फ जानुअघि अमेरिकी हवाई सेनाले जमिनमा रहेका लडाकुलाई लक्षित गरी आक्रमण गरको देखिन्छ । सेनाहरू जमिनमा उत्रनुअघि ज्यान जोगाउन सुरुङभित्र पसेका बगदादीले भेस्ट बम विस्फोट गराई आत्महत्या गरेका थिए ।अमेरिकी केन्द्रीय कमान्डर जेनरल केनेथ म्याक्केन्जीले बगदादीसँगै पहिले भनिएजस्तै तीन नभई दुई बालबालिकाको मात्र ज्यान गएको बताए । राष्ट्रपति डोनाल्ड ट्रम्पले भने जस्तो त्रासले चिच्याहट गर्दै मरेको म्याक्केन्जीले पुष्टि भने गर्न सकेनन् ।
‘दुई बालबालिकासहित उनी सुरुङमा पसे । आफ्ना सहयोगी माथि नै भएका बेला आत्मघाती विस्फोट गराए । यसैबाट बगदादी कस्ता मानिस थिए भन्ने तपाईं थाहा पाउन सक्नुहुन्छ,’ म्याक्केन्जीले बताए । बगदादीसँगै आत्मघाती पोसाक लगाएका ४ महिला तथा एक पुरुषको पनि मृत्यु भएको म्याक्केन्जीले बताए ।अमेरिकी हेलिकप्टरमाथि गोली चलाएपछि केही लडाकुलाई पनि अमेरिकी सेनाले मारेको उनको दाबी छ । म्याक्केन्जीका अनुसार कारबाहीका क्रममा गैरसैनिकको मृत्यु नहोस् भनेर निकै ध्यान दिइएको थियो । म्याक्केन्जीका अनुसार डीएनए टेस्टपछि बगदादीको शव पहिचान गरिएको हो । उनको डीएनएको नमुना सन् २००४ मा इराकी जेलमा रहँदा लिइएको थियो । उनका अनुसार ‘सशस्त्र युद्धको कानुनअनुसार बगदादीको शव समुद्रमा व्यवस्थापन गरिएको’ छ ।आईएस लडाकुले प्रतिशोधको भावनाले आक्रमण गर्न सक्नेबारे आफूहरू सचेत रहेको म्याक्केन्जीको भनाइ छ ।ईकान्तीपुरवाट












