‘छ माया छपक्कै’ का निर्माता भन्छन् – फिल्मको ग्रस कलेक्सन साढे १२ करोड

प्रकाशित मिति:

काठमाडौं – असोज २४ गदेदेखि प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै’ ले चौथो हप्तामा आइपुग्दा १२ करोडभन्दा माथिको ग्रस कलेक्सन गरेको छ । फिल्मले सोमबारसम्म १२ करोड ५० लाख कमाइ गरेको निर्माता रोहित अधिकारीले जानकारी दिए । ‘शुरुमा मोफसलबाट अझ बढी क्रेज देखिएको थियो, तर तिहारपछि फिल्मले राम्रो कमाइ गरेको छ,’ अधिकारीले भने । चलचित्रले मोफसलबाट चौथो हप्तामा आइपुग्दा मोफसलबाट ६ करोड २० लाखजति ग्रस कलेक्सन गरेको र अरु कलेक्सन राजधानीबाटै भएको रोहितले बताए । उनले यो फिल्मको लाइफटाइम कलेक्सन १३ करोड पुग्ने अनुमान गरे ।

दीपकराज गिरीको पटकथा रहेको यो फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार प्रसाद घिमिरे, प्रकाश घिमिरे लगायतका कलाकारको शीर्ष भूमिका छ । पानीको समस्या भएको एक गाउँमा आइपर्ने समस्या र त्यही समस्यामाथिको राजनीति देखाइएको यो फिल्मले समीक्षात्मक रुपमा समेत राम्रो प्रतिक्रिया पाएको छ ।