सबलपोस्ट / बुटवल – गृहमन्त्री रामबहादुर थापाले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास धेरै हदसम्म समाधान भएको बताएका छन् ।
गृह मन्त्रालय र प्रदेश ५ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले बुटवलमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री थापाले शान्ति सुरक्षाको स्थिति हिजोजस्तो नभएको बताए । ‘शान्ति र स्थिरता सुदृढ बन्दै गएको छ,हिजो जस्तो अवस्था छैन’– गृहमन्त्री थापाले भने–‘शान्ति सुरक्षामा जुन समस्याहरु देखा परेका थिए, मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयासहरु भएका थिए, ती प्रयास धेरै हदसम्म समाधान भए ।’
पुर्व सभामुख कृष्णबहादुर महरा,सांसद अफताब आलममाथि भइरहेको कानुनी कारवाहीतर्फ इंगित गर्दै गृहमन्त्री थापाले कानुन कार्यान्वयनको प्रक्रिया ठोस रुपमा अघि बढेको छ बताए । प्रदेश प्रहरी गठनको लागि कानुनी प्रकृया धेरै अगाडि बढिसकेको भन्दै उनले अब छिट्टै प्रदेश प्रहरी गठनले सार्थकता पाउने बताए । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण नेपालको विकास र समृद्धिका लागि कोशेढुंगा सावित हुने उनले बताए । अबको ती चार वर्षमा दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य सहित सरकार अघि बढेको उल्लेख गर्दै उनले व्यापार घाटामा सुधार र निर्यात बढेको बताए ।
सोमबारदेखि शुरु भएको बैठकमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, गृहसचिव प्रेमकुमार राई, सुरक्षा निकायका प्रमुखहरू, प्रमुख जिल्ला अधिकारीहरू सहभागी छन् ।यसैबीच गृहमन्त्री थापा सहित सुरक्षा निकायको बुटवलमा वैठक रहेका बेला प्रतिवन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले बुटवलमा ‘एकीकृत जनक्रान्ति जिन्दावाद’ लेखेको विप्लवको तस्वीरसहितका पोष्टरहरु टांसेका छन् । सोमबार राति बुटवलको मिलनचोकमा टांसिएको पोस्टर बिहान वडा प्रहरी कार्यालयका इन्स्पेक्टर हेम केसी लगायतले हटाएका छन् ।









