रौतहट – कांग्रेस नेता एवं सांसद मोहम्मद अफताव आलमको थुनछेक बहस आज पनि जारी छ । हिजो आलमको जिल्ला अदालत रौतहटमा बयान सकिएपछि थुनछेक बहस सुरु भएको थियो । २०६४ साल चैत २७ गते दर्जन भन्दा बढी व्यक्तिलाई इटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोगमा आलम विरुद्ध तीन वटा मुद्दा दर्ता भएको छ । जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा आलमको पक्ष र विपक्षमा कानुन व्यवसायीहरुले बहस गरेका थिए ।
तीनदिन लतागार लिइएको वयानमा आलमलाई जम्मा ५१ बटा प्रश्न सोधिएको थियो । हिजो तेस्रो दिनको बयानमा उनलाई ज्यान मार्ने उद्योग र बम विष्फोट सम्बन्धी कसुरबारे प्रश्न सोधिएको थियो । न्यायाधीशले सोधेको अधिकांश प्रश्नको आलमले इन्कारी बयान दिएका छन् । तत्कालीन समयमा सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो भन्ने प्रश्नमा मात्रै आलमले त्यसबेला मुद्दा नचलाउने निर्णय भएको बताएका थिए । आलमले यही एक मात्र प्रश्नको साविती बयान दिएका छन् ।









