सरकारले प्रदेशलाई कमजोर बनाउँदै संघीयता मास्ने षडयन्त्र गरिरहेको छ : कोईराला
सरकार दुई तिहाईको उन्मादमा
मोरङ — कांग्रेसका केन्द्रिय सदस्य शेखर कोइरालाले दुई तिहाईको उन्मादमा अहिलेका सरकारले लोकतन्त्रका खम्बाहरु कमजोर पार्दै गएको आरोप लगाएका छन् ।
बिपी अध्ययन प्रतिष्ठान मोरङले सुन्दरहरैंचामा आयोजना गरेको आजको सन्दर्भमा बिपीको राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवाद विषयक गोष्ठीमा उनले यस्तो बताएका हुन् ।
उनले सरकारले लोकतन्त्रको प्रमुख खम्बा न्यायपालिका सेना लगायतलाई कमजोर पार्ने प्रयत्न गरेको गुनासो पोखे । ‘न्यायिक समितिले प्रधानन्यायधीस सिफारिस गर्छ तर सरकारले त्यसलाई फित्र्ता गराई दिएर महिनौदेखि न्यायपालिकालाई अनिर्णयको बन्दी बनाएको छ उनले भने ।
कोइरालाले प्रधानमन्त्री केपी ओली शक्तिका भोका भएको बताए । प्रधानमन्त्री ओलीले राजश्व न्यायधिकरण, गैर सरकारी संघ संस्थाको अनुगमन लगायतको क्षेत्र आफ्नो नियन्त्रणमा लिएर शक्तिशाली बन्न खोजेको उनले सुनाए ।
लोकतन्त्रवादीहरु शक्ति पृथकीकरणमा विश्वास गर्छछन् तर अहिलेको सरकार शक्ति केन्द्रिकृत गर्नमा रमाएको उनले आरोप लगाए । ‘कम्यूनिष्ट स्कुलिङबाट आएको र एमाले माओवादी र संघीय समाजवादीको सरकारले जनवादी केन्द्रियतामा विश्वास गर्छ उनले भने, ‘जनवादी केन्द्रियतामा विश्वास गर्नेहरुले संघीयता रुचाउँदैनन् ।
कोइरालाले अहिलको सरकारले प्रदेशलाई कमजोर बनाउँदै संघीयता मास्ने षडयन्त्र गरिरहेको तर त्यसको लागि कांग्रेस लड्न तयार रहेको बताए । उनले सरकारले वित्तीय आयोग बनाउन नसकेर मुलुकमा कर आतंक चलिरहेको बताए । कर आतंक संघीयता असफल गराउनेतर्फ लक्षित भएकोले सबैलाई सचेत हुनु आवश्यक भएको उनले आग्रह गरे ।
मुलुकभरमा भदौ महिनामा ४० वटा जति बलत्कारको घट्ना भइसकेको र त्यसमा अहिलेसम्म दोषी पक्राउ गर्न नसकेको अवस्थाले भयावहस्थिती सृजना भइरहेको उनले बताए । कांग्रेस बलत्कारको घटना बिरोधमा विज्ञप्ती निकालेर मौन बस्नु उचित नभएको उनको भनाई थियो ।
उनले राणा र राजालाई समाप्त गरेको इतिहास बोकेका कांग्रेसीहरुलाई कम्युनिष्ट विरुद्धमा लडेर अघि आउन एकजुट हुनु आवश्यक भएको बताए ।
‘कांग्रेसीहरु जातियता र सम्प्रदायिकतामा रम्न रुचाएका छन्,’ कोइरालाले भने ‘बिपीले देखेको समाजवादमा सबै कांग्रेसीमा समावेशी चरित्र हुनु आवश्यक हुन्छ ।
बिपीको राष्ट्र राष्ट्रियता प्रजातन्त्र र समाजवादी अहिलेको सन्दर्भमा सबभन्दा बढी आवश्यक भएकोले यसलाई पुनस्परिभाषित गरेर जनजागरण अभियान कांग्रेसले चलाउन सकेमात्रै कांग्रेसको शाख फर्किने उनको भनाई थियो । उनले बिपीले देखेको समाजवादमा कृषि उत्पादन बढाउनुका साथै समान वितरण प्रणाली आवश्यक भएको सुनाए ।
योजना आयोगका पूर्व उपाध्यक्ष डा स्वर्णिम वाग्लेले लोकतन्त्रको कर्मकाण्डी विधिले कांग्रेस अघि बढ्न नसक्ने बताए । बिपीको राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवादको उन्नत रुपमा परिभाषित गरेर अघि बढनुको विकल्प नभएको उनले बताए । उनले मुलुकमा समृद्धिका लागि साझा समावेशी आवश्यक भएको बताए ।












