स्वस्तिक श्रेष्ठ/बुटवल- न्यु होराईजन ईन्टर स्कुल डिष्ट्रिक लेभल क्रिकेट प्रतियोगिताको दशौ संस्करणमा दुर्गा शैक्षिक गृह र सनसाईन बोर्डिङ स्कुल विजयी भएका छन । विहिबार भएको पहिलो खेलमा दुर्गा शैक्षिक गृहले ईलिट बोर्डिङ स्कुललाई १ सय ६९ रन तथा सनसाईनले नवज्योती बो स्कुललाई २१ रनले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन । न्यु होराईजन एजुकेशन ईन्टिच्युटको आयोजनामा तिलोत्तमा नगरपालिकाको नवजिवन खेलमैदानमा भएको पहिलो खेलमा टस जितेर ईलिटले ब्याटिङको निम्तो दिएपछि मैदान छिरेको दुर्गा शैक्षिक गृहका ब्याट्सम्यानहरुले पुरै २० ओभरमा ४ विकेटको नोक्सानीमा २ सय २५ रनको विशाल योगफल तयार गरेका थिए । दुर्गा शैक्षिक गृहका लागि अप्सन भण्डारीले ९५ रन नटआउट तथा बिमल चालिसेले ५४ रन बनाए । ईलिटका सर्भेस रुचालले १ विकेट लिए ।
विशाल लक्ष्य पछ्याएको ईलिटका ब्याट्सम्यानहरु दोहोरो अंकको रन जोड्न सकेनन । आकाश थापाले ८ रनमात्र जोडे । ईलिटका ब्याट्सम्यान १३.३ ओभरमा केवल ६६ रनमा अल आउट भए । कम स्कोरमा रोक्न दुर्गा सैक्षिक गृहका सौरभ पाण्डेले २ विकेट तथा अभिषेक शर्माले २ विकेट लिएका थिए । खेलमा दुर्गा शैक्षिक गृहका अप्सन भण्डारी म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।यसैगरि दोस्रो खेलमा टस जितेर ब्याटिङ गर्न मैदान छिरेको सनसाईनका ब्याट्सम्यानहरुले पुरै ओभर खेल्दै ७ विकेटको नोक्सनीमा १ सय २३ रन बनाएको थियो । सनसाईनका मनदिप खत्रीले २९ तथा रिसब खरेलले २४ रन बनाएका थिए । नवज्योतीका सौरभ पाण्डेले ३ विकेट तथा सागर खनौजियाले २ विकेट लिएका थिए । मध्यम स्कोर पछ्याएको नवज्योती पुरै ओभर खेल्दै ४ विकेटको नोक्सानीमा १ सय २ रनमात्र जोड्न सफल भयो । नवज्योतीका सुमन ज्ञवालीले ४९ तथा सागर खनौजियाले १७ रन बनाएका थिए । खेलमा सनसाईनका सुशान्त खरेल म्यान अफ दी म्याचबाट पुरस्कृत भए । प्रतियोगिता अन्तरगत शुक्रबार पहिलो चरणको खेलमा ग्रिन प्लान्ट बोर्डिङ स्कुल र सयपत्री बो स्कुलका बिचमा तथा दोस्रो खेल काशी नोबेल र ज्ञानकुञ्ज माविका बिचमा हुने छ । तिलोत्तमा नगरपालिका नवजिवन खेलमैदानमा मंसिर ६ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधिका लागि जिल्लाका १९ वटा विद्यालयहरुले प्रतिस्पर्धा गर्दै छन ।प्रतियोगिताको संयोजक शक्ति गौचनले प्रतियोगिताको उपाधि विजेताले नगद २० हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।










