काठमाडौं – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को प्रसारण अधिकार भारतीय कम्पनी एनके मिडिया भेन्चर प्रालीले पाएको छ । आइतबार एनके मिडिया भेन्चरसँग प्रसारण पार्टनरको रुपमा सम्झौता गरेको छ । एनके मिडियाले २७ खेलको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । सम्झौतापत्रमा एनके मिडियाका प्रभात सञ्जन मल्लिक र नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले हस्ताक्षर गरे । प्रसारण अधिकार बापत एनके प्रालीले आठ करोड नेपाली रुपैयाँ प्रदान गर्ने भएको छ ।
यस्तै खेलको भिडियो र हाइलाइट मिडिया सेन्टरमा उपलब्ध गराउने छ । सागका सबै खेलहरुको प्रत्यक्ष प्रसारण नक्षत्र न्युजले गर्ने भएको हो । सागका सबै खेलको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनबाट समेत हुने भएको छ । नक्षत्र बाहेक अन्य १५ विदेशी च्यानलले सागको प्रत्यक्ष प्रशारण गर्नेछ । नेपालमा आयोजना हुने १३ औँ साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा हुनेछ । सागको यस संकरणमा ३ सय २४ स्वर्ण, ३ सय २४ रजत र ४ सय ७८ कास्यसहित कुल एक हजार १ सय ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।










