गाउँपालिकाले विपन्न परिवारको सामूहिक विवाह गरिदिँदै

प्रकाशित मिति:

काठमाडौं –  पछिल्लो समय विवाह खर्चिलो बन्दै गएको छ । दहेजको प्रचलन भएका स्थानका विपन्न परिवारका लागि त विवाह झनै कष्टकर छ । विपन्न परिवारको यही बाध्यतालाई सुनसरीको कोशी गाउँपालिकाले सम्बोधन गर्ने भएको छ । गाउँपालिकाले विपन्न परिवारका छोरा–छोरीको निःशुल्क सामूहिक विवाह गरिदिएर विपन्न परिवारलाई सहायता गर्न लागेको हो । गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले मंसिरको अन्तिम साता विपन्न परिवारका छोरा–छोरीको निःशुल्क सामुहिक विवाह गरिदिन लागेको बताएका छन् । चौथो गाउँसभाबाट स्वीकृत कार्यक्रमअनुसार हुन लागेको विवाहका लागि दर्ता खुलेको गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

गाउँपालिकाका अनुसार, इच्छुक व्यक्ति तथा अभिभावकले मंसिर १७ गतेसम्म नजिकको वडा कार्यालय वा गाउँपालिकाको सामाजिक विकास शाखामा नाम दर्ता गराएर लाभ लिन सक्नेछन् । आ–आफ्नै परम्परागत विधिविधानअनुसार जोडीको विवाह गर्ने तयारी छ । बेहुला बेहुलीको लत्ता कपडासँगै भोजभतेरलगायत सम्पूर्ण व्यवस्थापन पनि गाउँपालिकालले नै गर्ने अध्यक्ष अन्सारीद्वारा जारी सूचनामा उल्लेख छ ।