लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु

प्रकाशित मिति:

रमेश बिश्वकर्मा / गुल्मी लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान आज (सोमबार) देखी शुरु भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान् अन्र्तगत यस वर्षको नारा ‘‘ समानताको पुस्ता बलात्कार विरुद्ध ऐक्यवद्धता ’’ भन्ने तय गरिएको छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउने गरिएको हो । नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो । यसैबीच  गुल्मीमा पनि अन्र्त्क्रिया कार्यक्रम भएको छ । दलित महिला संघ गुल्मी दलित महिला मानव अधिकारकर्मीहरुको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि परियोजनाको आयोजनामा सो कार्यक्रम गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै रेसुङ्गा नगरपालिका उपप्रमुख सीता भण्डारीले पृत्रि सत्तात्मक सोँच अझै पनि हट्न नसकेकाले लैङ्गिक हिंसाको अन्त्य हुन नसकेको बताउनुभएको छ । उहाँले महिला हिंसाको कारक तत्वहरुलाई पत्ता लगाएर यसको समाधान तर्फ लाग्नु पर्ने बताउनुभएको हो । उहाँले हिंसालाई जगाई राख्ने प्रमुख तत्वको रुपमा मदिरा पनि रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘‘रोजीरोटीको नाममा घरेलु मदिराको उत्पादन गछौँ । ’’ यसको सेवनले त्यसको मार आफैलाई पर्ने बताउँदै यसले हिंसा निम्ताई रहेको उल्लेख गर्नुभयो । साथै उहाँले बढ्दै गइरहेको वैदेशिक रोजगारले पनि महिलाहरुलाई पीडामा पारीरहेको उल्लेख गर्नुभयो ।अब आफ्ना श्रीमानहरुलाई विदेश नपठाई नेपालमै सँगै बसेर केही गरौँ भन्ने भावनाका साथ लाग्नु पर्ने समेत बताउनुभयो । कार्यक्रमलाई महिला अधिकारकर्मीहरु समेत रहनुभएका ललिता गौतम, विष्णु सापकोटा लगायतले पनि सम्बोधन गर्दै पछिल्लो समय महिला मात्र नभई कतिपय पुरुषहरु पनि हिंसाको सिकार बन्नु परेको बताउनुभएको थियो । दलित महिला संघ गुल्मीका अध्यक्ष कमला बरालको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिव बिष्णु विश्वकर्माले गर्नुभएको थियो