काठमाडौं /अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा रहेका तालिवानी लडाकूहरुसँग वार्ता गर्न चाहेको बताएका छन् ।अफगानिस्तानको भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पले तालिवानहरुले सम्झौता गर्न चाहेकाले अमेरिका उसँग वार्ता गर्न तयार रहेको बताएका हुन् ।इराकमा रहेका आफ्ना सैनिहरुलाई सम्बोधन गर्दै ट्रम्पले आफूले तालिवानहरुसँग वार्ता गर्न चाहेको बताएको बीबीसीले जनाएको छ ।भ्रमणका क्रममा ट्रम्पले अफगानिस्तानका राष्ट्रपति असरफ घानीसँग पनि भेटवार्ता गरेको बताइएको छ ।
तालिवानीहरु शान्तिपूर्ण आन्दोलनमा आए अमेरिकाले अफगानिस्तानमा रहेका सैनिकको संख्यासमेत कटौती गर्नेबारे सोच्न सकिने ट्रम्पले बताए ।सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणपछि अमेरिकाले अफगानिस्तानमा तालिवानविरुद्ध हस्तक्षेप गरेको १८ वर्षपछि पनि १३ हजार सैनिक तैनाथ रहेका छन् ।तालिवानीले एक अमेरिकी र एक अष्ट्रेलियाली नागरिकलाई नियन्त्रणमा लिएर रिहा गरेको एक सातापछि ट्रम्पले अफगानिस्तानको भ्रमण गरेका हुन् ।वार्ता सकारात्मक भए आठ हजार भन्दा बढी सैनिक कटौती गर्ने राष्ट्रपति ट्रम्पको योजना रहेको बताइएको छ ।तर उक्त निर्णय भने तालिवानीहरुसँगको वार्ताको परिणामले निर्धारण गर्ने बताइएको छ ।












