लैंगिक हिंसा बिरुद्ध एम्नेष्टिको सचेतना कार्यक्रम

प्रकाशित मिति:

बुटवल – हिंसा बिरुद्ध १६ दिने अभियानकै क्रममा एम्नेष्टि इन्टरनेशनल नेपाल समुह १२ बुटवल र निर्माणाधिन बुटवल महिला समुहले छुट्टा छुट्टै रुपमा हिंसा बिरुद्ध सचेतना कार्यक्रम गरेका छन् । एम्नेष्टि इन्टरनेशनल नेपाल समुह १२ बुटवलले आईतबार बुटवलको साधना महिला बिद्यालयमा र निर्माणधिन बुटवल महिला समुहले बुटवल वडा नं. ९ को आमा समुहका आमाहरुलाई प्रशिक्षणात्मक सचेतना कार्यक्रम गरेको हो ।

त्यस अवसरमा एम्नेष्टि इन्टरनेशनल नेपालका पूर्व महासचिव करुण खनाल र पूर्व संयोजक तथा सल्लाहकार वरिष्ट अधिवक्ता शालिकराम वञ्जाडेले हिंसा बिरुद्धका कानुनी व्यबस्था तथा न्यूनिकरणकालागि गर्न सकिने उपायहरुका बारेमा प्रशिक्षण गर्नुभएको थियो ।मानव अधिकारको क्षेत्रमा क्रियाशिल एम्नेष्टिले लैंङ्गिक हिंसा पनि मानव अधिकारको आधारभूत अधिकारमा पर्ने भएकाले हिंसा बिरुद्ध सचेनामुलक कार्यक्रम गरिएको समुह १२ बुटवलकी संयोजक सरिता भारीले बताउनु भयो । त्यस्तै मानव अधिकारको प्रवद्र्धन र रक्षाका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको बताउँदै त्यसकालागि सबै सचेत हुनु पर्ने भएकाले त्यसकैकालागि कार्यक्रम गरिएको निर्माणधिन बुटवल महिला समुहकी संयोजक जानकी नेपालले बताउनु भयो ।

मानव अधिकारको क्षेत्रमा अन्तर्राष्ट्रिय संस्था एम्नेष्टि इन्टरनेशन नेपाल समुह १२ बुटवल र निर्माणधिन महिला समुहले अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको पर्व सन्ध्यामा सोमबार साँझ बुटवलको ट्राफिकचोकमा दीप प्रज्वलन समेत गरिएको सहसंयोजक कबिन्द्र नेपालले जानकारी गराउनु भयो ।