म्यान्मारकी चर्चित प्रजातन्त्रवादी नेतृ आङसान सुकीले अन्तर्राष्ट्रिय अदालतमा दर्ता भएको रोहिंगिया मुसलमान नरसंहारको आरोप अस्वीकार गरेकी छिन्। संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय अदालतमा रोहिंगिया मुसलमानमाथि म्यान्मारले अत्याचार गरेको उजुरी परेपछि नोबेल शान्ति पुरस्कार विजेता सुकीले आरोपको खण्डन गरेकी हुन्। सुकीले आफ्नो देशको बचाउ गर्दै अन्तर्राष्ट्रिय अदालतमा परेको मुद्दा अपूर्ण र गलत भएको जिकिर गरेकी छन्। ‘शताब्दीयौंदेखि राखिनमा बसोबास गरिहेका रोहिंगिया मुसलमान आफ्नै देश फर्कन्छन्,’ सुकीले भनेकी छन्।
बौद्ध धर्मावलम्बीको बाहुल्य भएको म्यान्मारमा सन् २०१७ मा सेनाले गरेको कारबाहीमा हजारौं रोहिंगिया मुसलमान मारिनुका साथै ७ लाखभन्दा बढी ज्यान बचाउन छिमेकी मुलुक बंगलादेश भागेका थिए। म्यान्मारले राखिन राज्यमा जहिल्यै खतराको महसुस गरिरहेको बताउँदै आएको छ। सुकीले चरमपन्थीले सिर्जना गरेको खतरालाई समाप्त पारी देशमा शान्ति सुव्यवस्था स्थापना गराउन आफूले चालेको कदम न्यायिक भएको र चरमपन्थीले गरेको प्रहरी चौकीमाथिको आक्रमणको कारण आन्तरिक सशस्त्र द्वन्द्व भएको बताउँदै आएकी छन्। ‘स्वतन्त्रता खोज्ने उग्रवादीले हिंसा सुरु गरेका थिए,’ सुकीले अदालतसमक्ष भनेकी छिन, ‘यदि म्यान्मारको सेनाले गैरन्यायिक तरीकाले युद्ध अपराध गरेको भए उनीहरुलाई मुद्दा चलाइने छ।’ राखिनबाट विस्थापित भएका व्यक्तिकोे सुरक्षित स्वदेश फिर्तीका लागि प्रतिबद्ध रहेको भन्दै सुकीले अदालतलाई द्वन्द्व भड्काउन सक्ने तथा हिंसालाई प्रोत्साहन गर्नसक्ने कुनै निर्णय नगर्नसमेत आग्रह गरेकी छन्।
सन् २०१७ मा म्यान्मारमा दश लाख रोहिंगिया मुसलमानको बसोबास रहेकोमा सबैभन्दा बढी राखिन राज्यमा थिए। तर, म्यान्मार बौद्धमार्गी देश भएकाले रोहिंगिया शरणार्थीलाई अवैध आप्रवासीका रुपमा लिइ नागरिकता दिन अस्वीकार गरिररहेको छ। रोहिंगियालाई समाप्त पार्ने उद्देश्यले सैनिक कारबाही सुरु गरेको र सेनाले शिविर पसेर सामूहिक बलात्कार, हत्या हिंसा गरेको र शरणार्थी शिविरमा आगो लगाएको आरोप म्यान्मारलाई छ। अगस्टमा प्रकाशित एक रिपोर्टअनुसार म्यान्मारले नियोजित तरिकाले हत्याहिंसा, सामूहिक बलात्कार गर्नुका साथै यौन हिंसालाई प्रोत्साहन गर्न बालबालिका, महिला, पुरुष तथा तेस्रोलिङ्गीलाई प्रयोग गरेको आरोप छ। मे महिनामा १० जना रोहिंगिया मुसलमानलाई मारेको कारण जेल परेका सैनिकलाई म्यान्मारले आतंकवाद समाप्त गर्न र सैनिक कारबाहीमा मारिएको भन्दै अवधि नपुगी सेनालाई रिहा गरिदिएको छ। अन्तर्राष्ट्रिय न्यायिक अदालतले व्यक्तिलाई दण्डित गर्न नसक्ने भएका कारण म्यान्मारविरुद्ध मुद्दा ल्याएको बताएको छ। सुकीले देशको रक्षाका लागि आफू सधैं तयार रहेको बताएकी छिन्।












