​गर्भवतीलाई गाउँपालिकाले दिएको अण्डा श्रीमानले रक्सीको ‘सितन’ बनाइदिएपछि…

प्रकाशित मिति:

गुल्मी – गुल्मीको कालीगण्डकी गाउँपालिकाका जयाखानी र खड्गकोटका गर्भवती महिलालाई दिएको अण्डा पुरुषले सितन बनाएर रक्सीसँग खाईदिएका खुलेको छ । पोषण परिपूर्ति गर्न गर्भवतीलाई दिएको अण्डानै सितन बनाइदिएपछि गाउँपालिकाले यसपटक महिलाहरुलाई फिल्टर वितरण गरेको छ ।

गाउँपालिकाका ३ र ६ नम्बर वडाका केही पुरुषले आफ्नी गर्भवती श्रीमतीलाई राज्यले दिएको अण्डा रक्सीको सितन बनाएर खाइदिएका हुन्। फिल्टर वितरण गर्दै गाउँपालिकाकी उपाध्यक्ष तारा थापाले गतबर्ष गर्भवतीलाई दिएको अण्डा पुरुषले सितन बनाइदिएकाले यो पटक फिल्टर वितरण गरिएको बताइन् । गर्भवतीहरुलाई शुद्धपानी पिउने सुविधा दिन र स्वास्थ्यचौकीमा नियमित गर्भ परीक्षणका प्रेरित गर्न गाउँपालिकाले पानी छान्ने फिल्टर वितरण गरेको हो। कालीगण्डकी गाउँपालिका–७, भुर्तुङका वडाध्यक्ष लोकप्रताप शाहले वडाभित्र सुत्केरी भएका महिलाहरुलाई अनिवार्य रुपमा एक माना घिउ लिएर भेट्न जाने गरेका छन्।