काठमाडौं – काठमाडौंको चन्द्रागिरि-११ सतुंगलस्थित गौरीशंकर पेन्ट्स कारखानामा आगलागी भएको छ। करेन्ट सर्ट भएर कारखानामा आगलागी भएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख कुमार विक्रम थापाले आगो निभाउनको लागि दुइटा दमकल र दुइटा पानी ट्यांकर परिचालन गरिएको बताए।
उनले आगो १ घण्टाभित्रै नियन्त्रणमा ल्याइएको जानकारी दिए ‘आगलागी भएको ५ मिनेटभित्रै दमकल र पानी ट्यांकर परिचालन गरिएकोले ठूलो क्षति हुन पाएन’, उनले भने,‘हामीले १ घण्टाभित्रै आगो नियन्त्रणमा ल्याउन सफल भयौं।’
गौरीशंकर पेन्टसका सञ्चालक आन्नद रौनियारले प्रहरीहरूको सक्रियता र नगरपालिकाको साथ र सहयोगका कारण ठूलो क्षति हुन नपाएको बताए। उनका अनुसार आगलगीमा परी कारखानामा रहेको रङ बनाउने मेसिन, केमिकल, कारखानाको ठूलो र सानो मेशिन, कागजपत्र, अन्य सरसामान जलेर नष्ट भएको छ। आगलागीबाट कति क्षति भयो भने यकिन विवरण आउन बाँकी छ।









