अमेरिकामा ५ करोड खर्च गरि चार्टर गरेका यी ५ नेपालीलाई काठमाण्डौमा ल्याएर बिचल्ली बनायो !
काठमाडौं – अमेरिका पुगेर आफ्नो उज्जवल भविष्य बनाउँला भनेर विमान चढेर अमेरिका लागेकाहरु २६ महिना पछि नेपाल फर्कदा आफ्नो लुगा समेत राख्ने झोला नपाएर बोरा बोकेर फर्कनु पर्दा कस्तो पीडा भयो होला । २६ महिनासम्म अमेरिकामा भोगेका पीडा त झन सुनाईसाध्य छैन । पीडा सुन्नेहरुले भन्नेछन् आह धन्य ज्यान बचाएर आएछन् । अमेरिकावाट आफ्नो ज्यानमात्र बचाएर फर्किएका ति युवाहरुलाई अब नेपालमा अर्को समस्या छ । अब घर गएर के जवाफ दिने ?
रुकुममा २९ वर्षीय सुमन (नाम परिवर्तित) ले भोगेको समस्या हो यो । गाउँमै वेरोजगार बसेका उनलाई कसैले अमेरिकाको सपना देखायो । गाउँमा सबैले बेरोजगार भनेर हेला गर्न थालेपछि अमेरिका पुगेर पिआर लिएर तिनै गाउँलेलाई देखाउने भनेर उनी त्यता लागेका थिए । उनको सम्पर्कमा आएका ब्यक्तिले जसरी पनि अमेरिका टेकाइदिने जिम्मा लिए तर मेक्सिकोमा पुगेपछि भने त्यसपछिको जिम्मेवारी आफ्नै हुने सर्तमा उनी त्यता हानिए । दोस्रो, कम्तिमा पनि २० लाख रुपैयाँ हातमै दिनुपर्ने र बाटोमा अरु पनि आवश्यक पर्ने बताएपछि उनी त्यसै अनुसार रकम जुटाएर अमेरिका हानिए । अमेरिका जान भनेर १० असोज २०७४ मा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे ।
एजेन्टले भारत हुँदै यात्रा अघि बढ्ने जनाएका थिए । दिल्लीमा केही दिनको बसाइपछि ब्राजिल हुँदै कोलम्बियाबाट सुरेन्द्रको अवैध अमेरिका तिर लागे । विचौलियाले देखाइदिएको रुटअनुसार उनी डेरियन ग्याप नामक जंगलको बाटो हुँदै हिड्दै गरे । जंगलको बाटोमा हिड्दा उनी र उनका साथी लुटिए । लगाएको लुगा पनि लुटिएपछि मागेर लुगा लगाए । यात्राको क्रममा कपडासमेत मागेर लगाए, निकारगुवाबाट हुण्डुरस, गोटेमाला हुँदै चार महिनाको यात्रापछि उनी मेक्सिको पुगे ।
सीमा क्षेत्रमा बसिरहेका उनी अनुकुल वातावरण मिलेपछि राति सीमा पर्खाल पार गरे, तर अमेरिकी भूमिमा टेकेको पाँच मिनेट हुन नपाइ पक्राउ परे । त्यसपछि ११ महिनासम्म हिरासतमा बसे । विभिन्न शहरका क्याम्पमा सर्दासर्दै बुधबार नेपाल आइपुगे । रुकुमका सुरेन्द्र मात्र होइन, दाङ घोराहीका ३२ वर्षीय दिनेश, बाग्लुङको धाम्जाका ३० वर्षीय हरि र दाङका २९ वर्षीय अनिलको कथा पनि उस्तै छ । अमेरिकाले चार्टर गरेर पठाएको विमानवाट काठमाडौं विमानस्थलमा ओर्लिएका उनीहरुको खल्ती खाली थियो भने हातमा बोरा । बोरामा एक जोर लुगा थिए । अब घर सम्म जाने पनि पैसा थिएन उनीहरुसंग । सपनाको देशबाट खाली हात फर्किएका उनीहरु निराशाका बीच ठट्टा गर्छन् । हुन पनि अमेरिकाले ५ नेपाली युवासहित तीन पाकिस्तानीलाई निष्कासन गर्दा नेपाली ५ करोड रुपैयाँ खर्च गरेको छ । विशेष प्रकृतिको १६ जना अटाउने विमानमा अमेरिकी सुरक्षा अधिकृतले उनीहरुलाई नेपाल ल्याएका थिए ।












