अमेरिकामा अरुणिमा, ऋचा र रञ्जनाको मित्रता

प्रकाशित मिति:

काठमाडौँ /एक समय नेपाली फिल्ममा राम्रो दबदबा कायम गरेका कलाकारहरु अहिले अधिकांश विदेश पलायन भैसकेका छन् । नेपाली फिल्ममा नयाँ पुस्ताको आगमन बढेसँगै उनीहरु सुरक्षित भविष्य खोज्दै विदेशिएका हुन् । यद्यपि, एकाध कलाकारहरु भने अझै फिल्ममै सक्रिय छन् । तर, विदेश पलायन भएका कलाकारहरु पुनः नेपाली फिल्ममा फर्किएको निकै कम उदाहरण छन् ।विदेश पलायन भएपछि काँचको पर्दाबाट पनि दूरी बनाएका अभिनेत्रीहरु हुन्, अरुणिमा लम्साल, ऋचा घिमिरे र रञ्जना शर्मा । यी तीन अभिनेत्रीले नेपाली फिल्म छाडेर अमेरिकालाई कर्मथलो बनाएको वर्षौ भैसकेको छ । एकपछि अर्को फिल्म असफल हुन थालेपछि उनीहरु अमेरिका पलायन भएका थिए । त्यसपछि उनीहरुको कहिल्यै नेपाली फिल्ममा पुनः आगमन भएन ।

अभिनेत्री द्वय अरुणिमा र रञ्जनाले अमेरिका पुगेपछि श्रीमानसँग सम्बन्ध विच्छेद गरे । अरुणीमाको एक छोरी छिन् । त्यस्तै, रञ्जनाले निर्देशक श्याम भट्टराईसँग सम्बन्ध विच्छेद गरेपछि दोस्रो विवाह गरेकी छैनन् । अमेरिकामा बस्ने एक युवकको प्रेममा रहेकी उनी चाँडै दुलही हुने तयारीमा रहेको जानकारी प्राप्त छ । अर्की अभिनेत्री ऋचा तीन सन्तानकी आमा भैसकेकी छन् । नेपाली फिल्ममा सक्रिय रहँदा एकअर्कासँग खासै राम्रो सम्बन्ध नभएका यी तीन अभिनेत्री अमेरिका पुगेपछि भने घनिष्ट साथी बनेका छन् । उनीहरुको मित्रता ‘क्रिसमस डे’ को अवसरमा पनि देखियो । एकसाथ ‘क्रिसमस’ सेलिव्रेशन गरेको तस्विर अभिनेत्री त्रयले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट्याएका छन् । तस्विरमा उनीहरु एकअर्कासँग निकै रमाइरहेको देख्न सकिन्छ ।