तिलोत्तमा । तिलोत्तमा नगरपालिकाको वडा नं. ९ मा मंगलबार वृहत् सरसफाई गरिएको छ । ‘ग्रीन तिलोत्तमा : क्लिन तिलोत्तमा’ अभियानको ५४ औं संस्करण मंगलबार वडा नं. ९ मा भएको हो । तिलोत्तमा नगरपालिकाले हरेक महिनाको १ र १५ गते नियमित रुपमा नगरस्तरीय सरसफाई अभियान सञ्चालन गर्दै आएको छ ।वडाका विभिन्न टोलहरुमा गरिएको सघन सरसफाईबाट झण्डै चार ट्रेक्टर पोलोथिनजन्य फोहोर व्यवस्थापन गरिएको वडाध्यक्ष नारायण न्यौपानेले जानकारी दिनुभयो । झण्डै १५ सय वडाबासीको सहभागिता रहेको सरसफाई कार्यक्रममा नगर प्रमुख वासुदेव घिमिरे, वडाध्यक्ष नारायण न्यौपानेलगायतका जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्था, प्रहरी, आमा समूह, क्लव, विद्यालय, बैंक, सहकारीलगायतको संस्थागत सहभागिता रहेको थियो ।
वडा सदस्य, कर्मचारी, नगरपालिकाको साझेदार संस्था सिम नेपाल लगायतको टिम सरसफाईमा खटिएको थियो । अभियन्ताहरुले सडक, कुलो, नहर, बिद्यालय परिसर, सार्वजनिक क्षेत्रको पोलोथिनजन्य फोहोर संकलन गरेका थिए ।कार्यक्रममा नगर प्रमुख बासुदेव घिमिरेले पोलोथिनजन्य फोहारले मानव स्वास्थ्य, वातावरण, जलवायु परिवर्तनमा नकारात्मक असर पारेकाले त्यसको न्यूनीकरणका लागि अभियान चलाइएको बताउनुभयो । पछिल्लो समय तिलोत्तमालाई शुन्य पोलिथिन क्षेत्र बनाउन सिम नेपालले सरोकारवालाहरुको सहयोगमा ‘जुटौं सारा गाउँ र शहर, शुन्य पोलिथिन तिलोत्तमा नगर’ भन्ने नारा लिई अभियान चलाएको छ । तिलोत्तमालाई नमुना नगरपालिका बनाउँदै नगरबासीमा वातावरण सम्बन्धी सचेतना अभिवृद्धिका लागि अभियान सञ्चालन गरिएको अभियान्ता निपेश ढाकाले बताउनुभयो ।









