आतंकवादको लगानीबारे अनुसन्धान गर्ने नेपाल प्रहरीले पनि पाउने 

प्रकाशित मिति:

काठमाडौं । आतंककारी गतिविधिबाट हुने आम्दानी र लगानीको अनुसन्धानको अधिकार नेपाल प्रहरीले पनि पाउने भएको छ । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षक आईजीपी सर्वेन्द्र खनाल र शम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक रुपनारायण भट्टराईबीच यससम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारीको बुँदा नं ६ मा भनिएको छ, ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा १५ को उपदफा ३ बमोजिम सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाल प्रहरीलाई अनुसन्धानका लागि समन्वय गरी लेखी पठाउन सक्नेछ । मन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले समझदारी पत्रमा हस्ताक्षर भएको बताए । समझदारी हस्तक्षर कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि उपस्थित थिए ।

उनले समझदारीलाई नयाँ वर्षका दिन भएको राम्रो काम भन्दै भनेका छन्, ‘यसको ढृदतापूर्वक कार्यान्वयन हुने अपेक्षा लिएको हो ।’यो समझदारीसँगै अन्तर्राष्ट्रिय आतंककारी संगठन अलकायदा, मुजाहिद्दिन लगायतको नेपालमा लगानी देखिए प्रहरीले त्यसबारे अनुसन्धान गर्नेछ । समझदारी पत्रमा प्रहरी र विभागबीच नियमित रुपमा समन्वय तथा सहकार्यका लागि समन्वय टाक्स फोर्स गठन गर्ने पनि भनिएको छ । जसमा केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशक, विशेष ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी वा प्रहरी उपरीक्षक एसपी, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका निर्देशक, प्रहरी प्रधान कार्यालयका आतंकवाद प्रतिरोध संयन्त्रको सचिवालय र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका सम्पर्क अधिकृत रहेछन् ।