धकधई – रोहिणी गाउँपालिकाले गाउँपालिकामा रहेका जेष्ठ नागरिकहरुलाई कम्बल बितरण सुरु गरेको छ । तराई क्षेत्रमा शीतलहर बढ्दै गए पछि गाउँपालिकाले स्थानिय जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गरेको हो । सोमबार रोहिणी गाउँपालिका वडा नम्बर १ बगहामा कम्बल बितरण कार्यक्रमको सुरुवात गर्दै गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले सबै गाउँपालिकाकासीलाई चिसोबाट जोगिन आग्रह गरे । उनले अहिले तराईमा शीतलहरका प्रकोप बढेको र यसबाट जेष्ठ नागरिक बढी प्रभावित हुने हुदा प्रभावकारी उपाय अपनाउन आग्रह गरेका हुन् ।
गाउँपालिकाले जति प्रयास गरे त्यो सबैको लागी नहुने बताउदै यसको लागी स्थानिय स्तरबाटनै सहकार्य हुनु पर्ने उनले बताए । गाउँपालिकाले बिगतका बर्षहरुमा पनि कम्बल बितरण गर्दै आएको र यस बर्ष पनि प्रत्येक वडामा ७० वटाको दरले कम्बल बितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।
उनले गाउँपालिकाका सबै वडामा गरि ५ सय भन्दा बढी कम्बल बितरण गरिने बताए । रोहिणी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष आविद अली पठानको अध्यक्षता, गाउँपालिका अध्यक्ष सनोज कुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शिवकान्ती चमार, गाउँपालिकाका योजना शाखा प्रमुख राजकुमार मिश्र लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन वडा सचिव खगराज पाण्डेले गरेका थिए ।













