मुख्यमन्त्री र मन्त्रीको तस्बिरमा जुत्ता प्रहार, चारजना पक्राउ

प्रकाशित मिति:

जनकपुर – जनकपुरको जिरोमाइलमा मुख्यमन्त्रीसहित आधा दर्जन मन्त्रीको तस्बिर अंकित ब्यानरमा जुत्ता हानेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत र अन्य तिन मन्त्रीले आ–आफ्ना मातहतका मन्त्रालयले उपभोक्ता समिति मार्फत भौतिक विकास निर्माण कार्य सम्पन्न गरे पनि हालसम्म भुक्तानी नदिएको भन्दै उपभोक्ता समितिले शुक्रबार जनकपुरमा प्रदर्शनसहित तस्बिरमा जुत्ता हान्न थालेपछि प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

मुख्यमन्त्री राउत सहित भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय र सामाजिक विकास मन्त्री नवलकिशोर साहको तस्बिर अंकित ब्यानरमा जुत्ता हानेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो।

शान्तिपूर्णरुपमा प्रदर्शन गरिरहँदा उपभोक्ता समितिले मुख्यमन्त्री राउतदेखि अन्य मन्त्रीहरुको तस्बिरमा सार्वजनिकस्थलमै जुत्ता हान्न थालेपछि प्रहरीले रोशन सिंह राणा, रोशन ठाकुर, विमलेश चौधरी र शंकर साहलाई तत्कालै प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा लगेको छ ।

गत आर्थिक वर्षमा विभिन्न मन्त्रालय र प्रदेश सांसदमार्फत वितरण गरिएका ८ सय ४२ योजनामध्ये करिब ८७ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ । प्रदेश सरकारले बक्र्यौता रकम भुक्तानी नगरेको भन्दै केही दिनदेखि निरन्तररुपमा उपभोक्ता समितिहरु आन्दोलनमा उत्रेका छन् । यसअघि उपभोक्ता समितिहरुले प्रदेशसभा घेराउ गरेर प्रदर्शन गर्नुका साथै पूर्वाधार विकास कार्यालयमा तालाबन्दीसमेत गरेका थिए ।