बुटवल/ नेपाली चलचित्र ‘माराङ’को टिजर सार्वजनिक भएको छ । सुनारी फिल्मस् प्रालिको ब्यानरमा तुल सारु र रुपा सारु मगरको निर्माण तथा बुद्धया सुनारी मगरको निर्देशन रहेको चलचित्रको निर्माण अन्तिम चरणमा पुगेको छ । मगर भाषाको शब्द ‘माराङ’को अर्थ खुशी हो । पाल्पा जिल्लाको पुर्वि भेगस्थित निस्दी गाउँपालिका सेरोफेरोका स्थानिय समाजको वास्तविकता झल्कने गरी छायाँकन गरिएको चलचित्रको छायाँकन अन्तिम चरणमा पुगेको छ । छायांकन सकिनु पुर्व सन्ध्यामा युट्युबमार्फत चलचित्रको टिजर सार्वजनिक भएको हो । यसअघि पोष्टर सार्वजनिक गरिएको थियो । विशेष गरी ग्रामिण क्षेत्रमा रहेका मगर समुदायको लोप हुन थालेका मौलिक संस्कृति र परम्परा जगेर्ना गर्ने उद्देश्यले चलचित्र निर्माण गरिएको निर्माता तुल सारु मगरले जानकारी दिए ।

‘माराङ’ चलचित्रले हालसम्म उजागर नभएका तर लोप हुन लागेका रोचक र मौलिक मगर संस्कृति र संस्कारलाई उजागर गरेको निर्माता सारुले बताए । पश्चिमेली संस्कृतिको प्रभावका कारण आफ्नो मौलिक कला संस्कृति, रीतीरिवाज र संस्कार हराउँदै जान थालेकाले भावी पिँढीलाई आफ्नो संस्कार र संस्कृति जानकारी गराउंदै त्यसलाई संरक्षण सम्वद्र्धन गर्न चलचित्रले सन्देश दिने विश्वास गरिएको छ । चलचित्रमा रमेशबाबु थापा र सिर्जना मश्राङ्गी मगर नायक÷नायिकाको भूमिकामा अभिनय गरेका छन् । यस्तै टेक राना,पुनाराम सुनारी,लक्ष्मी सिंजाली,रोमन गाहाको पनि अभिनय रहेको छ । चलचित्रमा निदेश्क बुद्धया सुनारीले लेखेको ‘साली भेना’ बोलको गीत रहेको छ । चलचित्र निर्माण सम्पन्न भइसकेपछि शुरुमा विदेशमा प्रदर्शन गरिने र त्यसपछि नेपालमा गर्ने योजना रहेको निर्माण पक्षले जनाएको छ । चलचित्रको अफिसियल अनलाइन मिडियामा सबलपोष्ट डट कम रहेको छ । हेर्नुहोस टिजर












