काठमाण्डौ/ नेपालले विश्व टी-२० एसिया क्षेत्र बीको छनोटमा लगातार दोस्रो जित हात पारेको छ। मलेसियामा जारी प्रतियोगिताको दोस्रो खेलमा नेपालले आयोजक मलेसियालार्इ ८ विकेटले पराजित गरेको हो।
यसअघि भएको पहिलो खेलमा नेपालले म्यानमारलार्इ पनि त्यही अन्तरले पराजित गरेको थियो। वायुमास ओभलमा भएको खेलमा मलेसियाले दिएको १ सय १ रनको लक्ष्य नेपालले १२.४ ओभरमा पूरा गर्यो।
कप्तान पारस खड्काले ५२ रनको अर्धशतकीय पारी खेल्दै नेपाललार्इ सहज जित दिलाएका थिए। ३७ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे। यस्तै ज्ञानेन्द्र मल्लले २७ तथा विनोद भण्डारीले १२ रन जोडे। अनिलकुमार साह १ रनमै पवेलियन फर्किएका थिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले १९।३ ओभरमा सबै विकेट गुमाएर १ सय रनमात्रै जोड्न सकेको थियो। उसका ओपनर साफिक सारिफले ४९ तथा सायज अजिजले १३ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्।
सन्दीप लामिछानेले पाँच विकेट लिदैँ उत्कृष्ट प्रदर्शन गरेपछि मलेसियाले ठूलो स्कोर बनाउन सकेन्। म्यान अफ द म्याच सन्दीपले चार ओभरको स्पेलमा २० रन खर्चे। यस्तै सोमपाल कामीले तीन तथा पारस खड्काले १ विकेट लिए।










