सरकारले पत्रकारको न्युनतम तलब २४ हजार ३ सय तोक्यो

प्रकाशित मिति:

२१ असोज, काठमाडौं /
मन्त्रिपरिषदको आजको बैठकले श्रमजिवी पत्रकारको न्युनतम पारिश्रमिक कम्तिमा २५ प्रतिशतले वृद्धि गर्ने गरि न्युनतम पारिश्रमिक निर्धारण गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले यसअघि श्रमजिवी पत्रकारको न्युनतम पारिश्रमिक १९ हजार ५ सय रहेकोमा अब २४ हजार ३ सय तोकिएको जानकारी दिए ।
बास्कोटाका अनुसरा यो निर्णय कात्तिक १ गतेपछि सरकारी र निजी सबै सञ्चारमाध्यममा लागू हुनेछ । अनलाइन सञ्चारमाध्यमले भने आफू राष्ट्रिय, प्रादेशिक वा स्थानीय कुन स्तरको सञ्चार संस्था हो भन्ने स्वघोषणा गर्नुपर्ने सरकारले जनाएको छ । सोही अनुसार ती संस्थामा पारिश्रमिक लागु हुनेछ ।
त्यस्तै सरकारले गोरखापत्र संस्थापनको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको छ । यसअघिका अध्यक्ष गोविन्द पोखरेलको राजीनामा स्वीकृत गरी भण्डारीलाई कार्यकारी अधिकार थपेर अध्यक्ष नियुक्त गरेको हो । साथै मन्त्रिपरिषद बैठकले गोरखापत्रका महाप्रबन्धक बसन्त प्रकाश उपाध्यायसँग ३ दिने स्पष्टिकरण समेत मागेको छ ।
कागज खरिदमा अनियमितता गरेको भनेर छानविन चलिरहेका बेला उपाध्यायले सरकार विरुद्ध अदालतमा अपहेलना मुद्दा दायर गरेका थिए । तर सर्वोच्च अदालतले उनको रिट खारेज गरेको थियो ।