एसिया क्षेत्र बीमा नेपालको लगातार तेस्रो जित

प्रकाशित मिति:

काठमाण्डौ/  टी-२० विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्र बीमा नेपालले लगातार तेस्रो खेल जित हात पारेको छ। तेस्रो खेलमा नेपालले आइतबार थाइल्याण्डलार्इ डक विथ लुइसको आधारमा १ सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको हो।
नेपालले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले ८.५ ओभरमा वर्षाले खेल रोकिदा ९ विकेट गुमाएर १८ रनमात्रै बनाउन सकेको थियो। वर्षाले थप खेल सुरु हुन नसकेपछि डकविथ लुइस आधारमा नेपालले जित हात पारेको हो।

थाइल्याण्डका कुनैपनि ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्। नेपालका लागि सन्दीप लामिछानेले ५, करण केसीले ३ तथा ललितनारायण राजवंशीले १ विकेट लिएका छन्। करण म्यान अफ द म्याच घोषित भए।

त्यसअघि मलेसियाको वायुमास ओभल मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन जोडेको हो। करण केसीले १४ बलमा ४० रनको विस्फोटक पारी खेलेसँगै करणले २ चौका र ४ छक्कासहित अन्तिममा विस्फोटक पारी खेल्दै नेपाललार्इ सो स्कोरमा पुर्याएका हुन्।

नेपालका लागि शरद भेषावकरले ३४ रनको पारी खेलेका थिए। २८ बल खेलेका उनले २ चौका प्रहार गरे। दीपेन्द्रसिंह ऐरीले ३० रन जोडे। २६ बल सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरे।

यस्तै अनिलकुमार साहले २५, विनोद भण्डारीले १५ रन जोडे। कप्तान पारस खड्का ५ तथा ज्ञानेन्द्र मल्ल ७ रनमै पवेलियन फर्किएका थिए।

जितसँगै नेपाल अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। नेपालले पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा मलेसियालार्इ समान ८ विकेटले पराजित गरेको थियो।