काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परीक्षा सञ्चालन हुनुअघि नै प्रश्नपत्र र उत्तरकुञ्जिका परीक्षार्थीलाई पठाएको आरोपमा तीनजनालाई नियन्त्रणमा लिएको छ ।
आयोगले पक्राउ गरेकाहरुमा भक्तबहादुर शाही, घनश्याम भण्डारी र दलबहादुर विक रहेका छन् । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार भर्ना छनौट समितिका संयोजक समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर शाहीले परीक्षार्थीलाई मैसेन्जरमा प्रश्नपत्र पठाएको अनुसन्धानबाट खुल्न आएको हो । परीक्षाको नतिजा प्रकाशन भएपछि उजुरीको आधारमा अनुसन्धान गरिएको थियो ।
अध्यक्ष शाहीले प्रश्नपत्र र उत्तरकुञ्जिका पठाएका परीक्षार्थी उत्र्तिण भएपछि आयोगमा उजुरी परेको थियो । नतिजाबाट छनोट भइसकेका शिक्षक घनश्याम भण्डारी र वैकल्पिक उम्मेदवार दलबहादुरलाई आयोगले नियन्त्रणमा लिएको हो । त्यसैगरी, आयोगले जिल्ला प्रशासन कार्यालय, सप्तरीका मुद्दा शाखामा कार्यरत कार्यालय सहयोगी केशवकुमार यादबलाई घुससहित पक्राउ गरेको दाबी गरेको छ । यादबले अभद्र व्यवहार मुद्दामा पेशीमा राखेर टुंग्याउने प्रयोजनको लागि चार हजार रुपियाँ घुस लिएको आयोगले जनाएको छ ।









