गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा प्रमोद खरेलको यती ठुलो सहयोग
एक वर्षसम्म प्रति कार्यक्रम ५,१११ रुपैयाँ उपलब्ध गराउने
बुटवल – गायक प्रमोद खरेलले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोगको घोषणा गरेका छन् । कलाकार तथा सामाजिक अभियान्ता सीताराम कट्टेल (धुर्मुस)ले चितवनमा निर्माण गरिरहेको रंगशाला निर्माणका गायक खरेलले सहयोग गर्ने घोषणा गरेका हुन् ।
उनले वि.सं. २०७६ माघ १७ गतेदेखि ०७७ माघ १७ सम्म एक वर्ष आफूले गर्ने प्रत्येक सांगीतिक कार्यक्रमको पारिश्रमिकबाट ५ हजार १११ रुपैयाँका दरले रंगशाला निर्माणमा सहयोग गर्ने बताए । “म आफैं पनि क्रिकेटसँग जोडिएको व्यक्ति हुँ, क्रिकेटप्रेमी दर्शक पनि हुँ, त्यसैले यो रंगशाला निर्माणमा सहयोग गर्ने घोषणा गरेको हुँ,” प्रमोदले बाह्रखरीसँग भने, “थोपा थोपा मिलेर सागर बन्छ । आफूले सकेको सहयोग गर्ने हो भने रंगशाला निर्माण अभियान सहज हुने छ ।”
‘भ्वाइस अफ नेपाल’का कोच समेत रहेका उनी अहिले देश तथा विदेशमा हुने सांगीतिक कार्यक्रममा सर्वाधिक बोलाइने कलाकार हुन् । प्रमोद महिनामा १० वटासम्म स्टेज कार्यक्रम गर्छन् । निर्माणाधीन रंगशालाको लगानी ३ अर्ब रहेको छ । प्रति व्यक्ति १०० रुपैयाँ दिए पनि रंगशाला निर्माणका लागि बजेट पुग्छ । तर सीताराम यति बेला लगानी जुटाउन पटपक पटक अपिल गर्दै आएका छन् ।
प्रमोद प्रदेश नम्बर १ क्रिकेट संघको सद्धभावना दूत पनि हुन् । सद्धभावना दूतका हिसावले उनले प्रदेश नम्बर १ को क्रिकेटलाई उनले सहयोग गर्दै आएका छन् । नेपाली क्रिकेटलाई नजिकबाट नियाल्दै आएका प्रमोदले नेपाली क्रिकेटको खेल र गतिविधिमा सामाजिक सञ्जालबाट आफ्नो धारणा राख्दै आएका छन् । प्रमोदले केही वर्ष अगाडि मेरो ‘देश प्यारो नेपाल’ बोलको क्रिकेट गीत समेत सार्वजनिक गरेका थिए ।









