डुंगा डुब्दा १५  शरणार्थीको मृत्यु

प्रकाशित मिति:

ढाका/ बंगलादेशको तटपारी डुङ्गा दुर्घटना हुँदा कम्तीमा १५ रोहिङ्ग्या शरणार्थीको ज्यान गएको छ ।बंगलादेशबाट भागेर मलेसिया जानेक्रममा १३० जना चढेको डुङ्गा बंगलादेशको तटपारी बंगालको खाडी क्षेत्रमा रहेको सेन्ट मार्टिन टापुनजिक डुबेको बंगलादेशको तटरक्षक फौजले जनाएको छ ।डुङ्गामा चढेकामध्ये ७० जनाभन्दा धेरैलाई उद्धार गरिएको जनाइएको छ । ५० जना क्षमताको डुङ्गा बंगलादेशको तटीय शहर कक्स बजारबाट मलेशिया जानका लागि हिँडेको बताइएको छ । क्षमताभन्दा धेरै यात्रु बोकेका कारण डुङ्गा डुबेको हुनसक्ने बंगलादेशी अधिकारीको आशंका छ ।

मारिनेमा महिला र बालबालिका समेत छन् । सन् २०१७ मा म्यान्मारको सेनाले मुसलमान धर्मावलम्बी रोहिङ्ग्या जनजातीलाई लक्षित गरी कारवाही चलाएपछि लाखौं रोहिङ्ग्याहरु हाल बंगलादेशमा शरणार्थीका रुपमा बसोबास गर्दै आएका छन् ।यद्यपि बंगलादेशको शरणार्थी शिविरको अवस्था दयनीय रहेका कारण हरेक वर्ष हजारौं रोहिङ्ग्याहरु खतरनाक बाटो प्रयोग गरी ज्यान जोखिममा राखेर बंगालको खाडीबाट मलेशिया जाने गरेको बताइन्छ ।