२५ असोज, काठमाडौं । सेल्फीका लागि विश्वमै आम व्यक्तिको क्रेज बढिरहेकै छ । राम्रो सेल्फीका लागि विश्वका कयौं व्यक्ति अनेक उपाय अपनाउँछन् । गुडिरहेको ट्रेनअगाडि बसेरदेखि आगलागी भइरहेको ठाउँ नजिक बसेर लिएका सेल्फी बेलाबखत चर्चामा आइरहका हुन्छन् ।
तर, खतरापूर्ण अवस्थामा सेल्फी लिने क्रममा कयौंको ज्यानसमेत गएको छ । सन् २०११ पछि ६ वर्षमा सेल्फीकै कारण २५९ जनाको ज्यान गएको तथ्यांक सार्वजनिक भएको छ ।
फ्यामिली मेडिसिन एण्ड प्राइमरी केयरमा प्रकाशित भएको अध्ययन अनुसार सन् २०११ देखि २०१७ को नोभेम्बरसम्म विश्वभरमा सेल्फी लिने क्रममा २५९ जनाको ज्यान गएको छ ।
भारतको नयाँ दिल्लीमा रहेको अल इन्डिया इन्स्टिच्युड अफ मेडिकल साइन्सेजका अनुसन्धानकर्ताको समूहले गरेको अनुसन्धान प्रतिवेदन जर्नलमा प्रकाशित भएको हो ।
सेल्फी लिने क्रममा ज्यान गुमाउनेमा धेरै भारतीय रहेका छन् । भारतमा सन् २०११ यता सेल्फी लिने क्रममा ज्यान गुमाउनेको संख्या १५९ रहेको तथ्यांकमा उल्लेख छ । त्यसपछि रुस, अमेरिका र पाकिस्तानमा यस्ता घटना बढी भएका छन् ।
सेल्फी लिने क्रममा जोखिम लिएका कारण ज्यान गुमाउनेमा ७२ प्रतिशत भन्दाबढी ३० वर्ष भन्दा कम उमेरका पुरुष रहेका छन् ।
पुरुषको तुलनामा महिलाले धेरै सेल्फी लिने भए पनि जोखिम लिने सवालमा पुरुष अघि रहेकाले ज्यान गुमाउनेको संख्या पनि उनीहरुकै धेरै भएको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सेल्फीका कारण हुन सक्ने जोखिम कम गर्नका लागि पहाडका चुचुरा, जलासय तथा नदी क्षेत्र, अग्ला भवनसहितका क्षेत्रलाई ‘नो सेल्फी जोन’ बनाउन सुझाव दिइएको छ ।












