वामदेवलाई पद बुझाउने रामवीरलाई कार्वाही !

प्रकाशित मिति:

असोज २६ काठमाडौं । जब जनताको प्रतिनिधित्व गर्दै जनताकै लागि काम गर्छु भन्ने सपथ खाएर कुनै पनि व्यक्ति संसदभित्र छिर्छ भने उसले आफ्नो दायित्व पूरा गर्नुपर्छ । दायित्यबाट पन्छेर आफ्नो स्वार्थमा लाग्ने जोकोहीलाई जनताले कार्वाही गर्नुपर्छ । निश्चित रुपमा गर्छन् नै ।

तर त्यो भन्दा पहिले पार्टीले कार्वाही गर्ने संकेत मिलेको छ । काठमाडौं क्षेत्र नम्बर ७ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद रामवीर मानन्धरले जनमतको अपमान गर्दै निश्चित स्वार्थका लागि आफ्नो पद वामदेव गौतमलाई बुझाउन खोजेको आरोपमा कार्वाही भोग्नुपर्ने देखिएको छ ।

क्षेत्र ७ का जनताले रामवीरलाई कार्वाही गर्नुपर्नेमा बुधबारै एक मत जाहेर गरेका बेलामा बिहीबार पार्टीभित्रै उनलाई कार्वाही गर्नुपर्ने माग उठेको हो ।

पार्टीको नेतृत्व तहको एक खेमालाई मात्र जानकारी दिएर पत्रकार सम्मेलन गर्दै रामवीरले चर्चामा आउन खोजे । उनले निहित स्वार्थमा रहेर पार्टीलाई बदनाम गराउन खोजेको भन्दै कार्वाही गर्न खोजिएको एक स्थायी कमिटि सदस्यले बताएका छन् ।

उनले रामवीरसंग जोडिएका वामदेवलाई भन्दा पनि पार्टीलाई बदनाम गराउन खोजेकाले रामवीरलाई कार्वाही गर्नुपर्नेमा नेताहरुले कदम बढाउन खोज्ने जनाए ।

रामवीरको यो कदमले सांसद पद बिक्रीका लागि राखिएको जस्तो भएको समेत चर्चा चलेको छ । रामवीरले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा पत्र बुझाएका थिए ।

वामदेवले एक अर्बसम्म रुपैयाँ खर्च गर्न सक्ने चर्चा चलेपछि त्यसकै लोभमा पाँच करोड नगद, राष्ट्रिय सभा सदस्य र मन्त्री पद पड्काउन उनी बिक्रीमा लागेका थिए ।

पालो अब ओलीको
कुनै समय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको खेमाका रामवीरले एकाएक खेमा बदले । संसदीय समितिमा रहन माग गरेका थिए । त्यहाँ पाएनन् । त्यसअघि मन्त्री पद मागेका थिए । त्यो पनि पाएनन् । त्यसपछि ओलीको खेमा उनले बदले ।

त्यही खेमा बदलेर दुवै हातमा लड्नु लिन उद्दत देखिएका रामवीरको राजनीतिक करियर अब छिट्टै सकिने आँकलन गर्न थालिएको छ ।

ओली अहिलेसम्म चुप लागेर बसे । अब चुप लाग्दैनन् भन्ने आँकलन गर्न थालिएको छ । पार्टी उच्च कमिटी र संसदीय दललाई समेत जानकारी नगराई निर्वाचित सांसदबाट राजिनामा दिने सार्वजनिक घोषणा गरेका उनलाई अनुशासनको कारवाही हुनेमा दुई मत नभएको दावी गर्न थालिएको छ ।

प्रचण्डको निवासमा असोज २१ मा भएको सहमति बमोजिम रामवीरले वामदेवलाई आफ्नो क्षेत्र खाली गराउन सहमत भएको भन्दै पत्र तयार भएको थियो । उक्त पत्र प्रचण्ड, वामदेव र रामवीरबीचको सहमति थियो ।

ओली अहिले पीडामा छन् । उनको मन्त्रिपरिषदमा इमानदारभन्दा बढी बेइमान देखिएका छन् । ओलीले मन्त्रिपरिषदका सदस्य फेर्नेसम्मको कदम चाल्ने सम्भावना रहँदा रामवीरले पार्टीलाई बदनाम गर्नका लागि देखाएको हर्कतले थप मर्माहत भएका छन् ।

विपक्षीको आरोपलाई रोक्न नेता तथा कार्यकर्तालाई अरिंगाल बन्नुपर्छ भनेका ओलीले आफ्नै पार्टीलाई टोक्न रामवीरजस्ता महाअरिंगाललाई देखेपछि कार्वाही त हुने नै छ । कस्तो कार्वाही होला त्यो भने चासोको विषय बनेको छ ।

ओलीको विकल्पका रुपमा वामदेवलाई अगाडि बढाउन खोज्ने जो कोही ओलीका शत्रु हुन् । यो परिस्थितिमा ओलीले रामवीरलाई त बाँकी राख्ने छैनन् रामवीरलाई उक्साउने कसैप्रति पनि उनले दयाभाव नराख्ने स्पष्ट छ ।