असोज २६, २०७५ काठमाडौं –आईसीसी विश्वकप टी–२० एसिया उपक्षेत्रीय छनोट अन्तर्गत नेपाल र सिंगापुरबीचको खेल वर्षाले प्रभावित भएको छ ।
८२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ३ बलमात्र खेल्दा पानी परेपछि खेल रोकिएको हो । नेपालले ३ बलमा १ विकेट गुमाएर १ रन जोडेको छ । अनिल साह रनको खाता नै नखोली आउट भएका हुन् ।
खेल रोकिँदा क्रिजमा कप्तान पारस खड्का र विनोद भण्डारी थिए ।
मलेसियाको क्वालालाम्पुरमा यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सिंगापुर १७ ओभर ३ बलमा ८१ रन जोड्दा अलआउट भएको थियो
सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले ४, सोमपाल कामी र करण केसीले समान २ तथा वसन्त रेग्मी र ललितनारायण राजवंशीले १-१ विकेट लिए ।
सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक २५ तथा मनप्रित सिंह र सिद्धान्तले समान १० रन जोड्नुबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
आजको विजेता प्रतियोगिताको विजेता बन्नेछ । नेपालको लक्ष्य आजको खेल जित्दै उपाधिसहित दोस्रो चरणमा पुग्नु रहेको छ ।
यस समूहबाट नेपाल, सिंगापुर र मलेसिया अघिल्लो चरणमा प्रवेश गरेका छन् । नेपाल र सिंगापुर दुवैले यसअघिका पाँचै खेल जितेका छन् ।
यस्तै एसियाको पश्चिम क्षेत्रीय छनोटबाट युएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् ।
दोस्रो चरणमा युएई, कतार र कुवेतसँगै नेपाल, मलेसिया र सिंगापुर गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
सो प्रतिस्पर्धाबाट शीर्ष दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन् । अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र १४ मध्ये छ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् ।










