सगरमाथासहित सबै हिमाल आरोहण बन्द

प्रकाशित मिति:

काठमाडौं– कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले वसन्त यामको हिमाल आरोहण बन्द गरेको छ। अब यो याममा सगरमाथालगायत सबै हिमाल आरोहण रोकिएको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलको अध्यक्षतामा बिहीबार राति बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले वसन्तकालीन हिमाल आरोहण स्थगित गर्ने निर्णय गरेको हो। आरोहणको सिजन सुरू हुनै लाग्दा स्थगत गर्ने निर्णय गरिएको हो।

अब हिमाल आरोहणका लागि नयाँ अनुमित दिइनेछैन भने यस अघि अनुमति लिएका आरोहीको पनि अनुमति रोकिनेछ। यो सिजनमा कुनै पनि आरोहीले हिमाल आरोहण गर्न पाउनेछैनन्।

पर्यटन विभागले यस अघि नै वसन्त यामका लागि पाँच वटा हिमाल आरोहणका लागि अनुमति दिइसकेको छ। विभागको पर्वतारोहण शाखाकी निर्देशक मीरा आचार्यका अनुसार ६ हजार आठ सय १४ मिटर अग्लो आमादब्लम हिमाल आरोहणका लागि एक समूहका तीन आरोहीलाई अनुमति दिइएको छ।

त्यस्तै ६ हजार दुई सय ५८ मिटर अग्लो चुक्यीमा हिमाल आरोहणका लागि एक समूहका दुई आरोही, ६ हजार दुई सय ४४ मिटर अग्लो पबुक खाङ हिमाल आरोहणका लागि एक समूहका तीन जना आरोहीले अनुमति लिएका छन्।

त्यस्तै ६ हजार चार सय ७३ मिटर अग्लो जक्र्या पिक आरोहणका लागि एक समूहका तीन आरोही र पाँच हजार सात सय ५१ मिटर अग्लो थोराङ पिक आरोहणका लागि एक समूहका दुई आरोहीले अनुमति लिएका छन्।

यस सिजनमा पाँच वटा हिमाल आरोहणका लागि विभागवाट पाँच समूहका १३ जना आरोहीले अनुमित लिएका छन्। आरोहण अनुमतिवाट विभागले चार लाख २५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।

निर्देशक आचार्य सरकारको निर्णयसँगै अनुमति दिएका हिमाल आरोहणका विषयमा छलफल भइरहेको बताइन्। ‘सरकारको निर्णयअनुसार, नयाँ आरोहण अनुमति नदिईने भने पनि दिएका अनुमतिका विषयमा छलफलको तयारी गरिएको छ,’ उनले भनिन्।

चीनले यसअघिनै उत्तरी क्षेत्र ९चीन तर्फवाट० सगरमाथा आरोहण बन्दको घोषणा गरिसकेको छ। चीनसगैँ नेपाल सरकारले केही समयका लागि भन्दै सम्पूर्ण हिमाल आरोहण बन्द गर्ने निर्णय गरेको हो।

पर्यटन विभागले आरोहीको मागअनुसार, अंग्रेजी चारै सिजनमा आरोहण अनुमति दिएपछि बाह्रै महिना आरोहणको तयारी गरिएको थियो। गत वर्ष दुई सिजनमा मात्रै आरोहण अनुमति दिइएकोमा यो वर्ष चारै सिजनमा आरोहण अनुमतिको तयारी विभागले गरेको थियो।

गत वर्षको वसन्त ऋतुमा मात्रै ६ सय ४४ आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए। विभागको तथ्यांकअनुसार, पाँच सय ७७ पुरुष र ६७ महिला आरोही तथा शेर्पा गाईड, भरियालगायतले आरोहण गरेका थिए।

गत वर्ष ४८ देशका दुई सस ६७ जना आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए। दुई सय ६७ आरोहीसँगै तीन सय ६४ गाईड र भरियाले पनि आरोहण गरेका थिए।