मुलुक कुखुराको मासु तथा अण्डामा आत्मनिर्भर भए पनि ब्रोइलर कुखुरा उत्पादन गर्ने प्यारेन्ट चल्ला भने विदेशबाट आयात भइरहेको छ। यहाँ सञ्चालनमा रहेका ह्याचरी उद्योगको माग अनुसार प्यारेन्ट चल्ला उत्पादन नभएपछि विदेशबाट मासिक डेढ लाख चल्ला ल्याउने गरेको व्यवसायी बताउँछन्।
थाइल्यान्ड, मलेसिया, नेदरल्यान्ड, डेनमार्क, फ्रान्स, श्रीलंका लगायत मुलुकबाट कुखुराका प्यारेन्ट चल्ला आयात हुँदै आएको छ। यो चल्ला एउटाकै पाँच सय ५० रुपैयाँ पर्छ। एक महिनामै करिब आठ करोड २५ लाख रुपैयाँका चल्ला आयात हुन्छ।
चालु आर्थिक वर्षको साढे दुई महिनामा करिब पाँच लाख चल्ला आयात भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार एजेन्ट रामकुमार ढुंगानाले बताए। ढुंगानाका अनुसार विमानस्थल हुँदै मासिक करिब डेढ लाख चल्ला आयात हुन्छ।












