काठमाडौँ /स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार राति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार फर्किएका छन् ।झण्डै २० घण्टा अस्पतालमा उपचार गराएर प्रधानमन्त्री ओली डिस्चार्ज भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए । प्रधानमन्त्री ओलीको मुटुको धड्कन बढेपछि अस्पताल भर्ना गरिएको थियो ।गएको २१ फागुनमा शिक्षण अस्पतालमै प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गराएका थिए । २०६४ साउनमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले दोस्रो पटक भने शिक्षण अस्पतालमै प्रत्यारोपण गराएका हुन् ।
अहिले सरकारी निवास बालुवाटारमा आराम गरिरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधवकुमार नेपालले अस्पताल नै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।-हिमाल खबर पत्रिकाबाट









