लकडाउन प्रभावकारी बनाउन वडाभित्र सरोकारवालाको सक्रियता ।

प्रकाशित मिति:

कौरव खत्री  बागलुङ २३ चैत ।  बागलुङको गलकोट नगरपालिका वडा नं ७ मा लकडाउनलाई प्रभावकारी रुपमा कार्यन्वयन गराउन जनप्रतिनिधी, राजनैतिक दलका प्रमुख र लकडाउन समन्वय समितिले सक्रियता बढाएका छन ।

वडाभित्र कोभिड १९ कोरोना भाईरसको संक्रमणबाट जोगिन के के गर्नुपर्छ भन्ने विषयमा समेत जनचेतना फैलाउन उनीहरु टोल टोलमा समय समयमा अनुगमनको लागि पुग्ने गरेका छन ।

वडाले दैनिक ३ पटक माईकिङ गरेको छ । सर्वपक्षीय बैठकपछि वडाभित्र अत्यावश्यक कामका लागि भित्रिने र बाहिरिने खाद्यान्न, बिरामी र दुर्घटना, गर्भवती र सुत्केरी महिला बाहेकलाई पूर्ण रुपमा रोक लगाईएको गलकोट नगरपालिका ७ का वडाअध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए ।

त्यस्तै सामुहिक रुपमा भिडभाड गर्ने,हिडडुल गर्ने, भेला हुने लगायतका कार्यहरुमा पनि पूर्ण रुपमा रोक लगाईएपछि अहिले वडामा लकडाउनको पालना सबैले गर्न थालेको वडा अध्यक्ष थापाले बताए ।

वडाभित्रका सडक,सार्वजनिक स्थलहरु,होटल,पसल,मठ मन्दिरहरु अहिले सुनसान जस्तै रहेका छन । साथै खेतबारीमा काम गर्ने कृषकहरुलाई सामाजिक दुरी कायम गरि माक्स तथा रुमाल प्रयोग गरि काम गर्ने वातावरण तय गरिएको लकडाउन अनुमन समितिका सदस्य तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष दल बहादुर थापाले जानकारी दिए ।

त्यस्तै समन्वय समितिले वडाभित्र कहाँ के भईरहेको छ भनेर समय समयमा अपडेट गरिरहेका छन भने स्थानीय क्लवहरुले पनि यो अभियानमा सकृयता पुर्वक आफनो भूमिका निर्वाह गरिरहेका छन । बागलुङ जिल्ला कोरोना भाईरसको उच्च जोखिममा परे सँगै वडा भित्रका सरोकारवालाहरुले आफनो सक्रियता बढाएको वडा सदस्य लोक बहादुर थापाले जानकारी दिए ।

नोवेल कोरोना भाईरस कोभिड १९ को कारण नेपाल सरकारले चैत १० गते देखि देशलाई पूर्ण रुपमा लकडाउन गरेको छ । कोरोनबाट बच्न सबैलाई थप सावधानी, सतर्क अपनाउँदै सरसफाईमा उचित ध्यान दिन सबैमा गलकोट नगरपालिका वडा नं ७ लकडाउन समन्वय समितिले अपिल समेत गरेको छ ।