पोखरामा नेपालको सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिता हुने

प्रकाशित मिति:

काठमाडौँ — पोखरा प्रिमियर लिग (पीपीएल) नेपालको सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिता हुने भएको छ । यसको आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले बुधबार प्रतियोगिता विजेतालाई २७ लाख र उपविजेतालाई १० लाख दिने घोषणा गरेको छ । चैतमा धनगढी सम्पन्न धनगढी प्रिमियर लिग (डीपीएल) को विजेतालाई २५ र उपविजेतालाई १० लाख प्रदान गरिएको थियो, जुन यसअघिको क्रिकेटमा सर्वाधिक धनराशिको पुरस्कार थियो । नेपालको अर्को फ्रेन्चाइज क्रिकेट एभरेस्ट प्रिमियर लिगको गत संस्करणको विजेतालाई २१ र उपविजेतालाई ८ लाख प्रदान गरिएको थियो । पीपीएलका प्रबन्ध निर्देशक छुम्बी लामाले यसअघि नै प्रतियोगिता सर्वाधिक धनराशिको हुने जनाए पनि विजेताले कति पाउने भने खुलाएका थिएनन् । पीपीएलका उत्कृष्ट ब्याट्सम्यान र बलर तथा म्यान अफ द सिरिजमा चुनिनेले सुजुकी जिक्सर मोटरसाइकल पाउने भएका छन् । प्रत्येक खेलको उत्कृष्ट खेलाडीले रिलायन्स सुपर टेक सिमेन्ट म्यान अफ द म्याचले १० हजार रुपैयाँ र ५ हजारबराबरको गिफ्ट प्रदान गरिने भएको आयोजकले जनाएको छ । साथै प्रत्येक खेल जित्ने टिमलाई विनिङ बोनसस्वरुप १५ हजार ५ सय प्रदान गरिने छ । प्रतियोगितालाई नमस्ते प्रिमियर बियरले प्रायोजन गर्ने भएको छ । योसँगै प्रतियोगिताको नाम ‘नमस्ते पोखरा प्रिमियर लिग’ हुने भएको छ । आयोजक र प्रायोजक दुवैले सम्झौताको पाटो खुलाएका छैनन् ।