नेपाल विद्यार्थी संघले विद्यार्थीलाई निस्शुल्क इन्टरनेट सेवा उपलब्ध गराउन माग गरेको छ।नेपाल दूरसञ्चार प्राधिकरणका प्रबन्ध निर्देशकलाई नेविसंघले आइतबार विद्यार्थीलाई निस्शुल्क इन्टरनेट सुविधा उपलब्ध गराउन माग गरेको हो।नेविसंघ अध्यक्ष राजीव ढुंगानाले कोरोनाभाइरस महामारीका कारण शैक्षिक संस्थामा पठनपाठन बन्द भएका बेला अनलाइनबाट पठनपाठन गर्नुपर्ने अवस्था रहेकोले इन्टरनेट सेवा निस्शुल्क गर्नुपर्ने बताएका छन्।
नियमित अध्ययनरत विद्यार्थीको विवरण सम्बन्धित शैक्षिक संस्थाबाट लिने र सम्पूर्ण विद्यार्थीको आइडि बनाइ इन्टरनेट सुविधा तत्काल उपलब्ध गराउन अनुरोध गर्दछौं,’ अध्यक्ष ढुंगानाले भनेका छन्।निस्शुल्क इन्टरनेट सुविधा दिनुपर्ने मागपत्र महामन्त्रीहरु दीपक भट्टराई ,युवराज पाण्डेय , बलदेव तिमल्सेना ,उर्मीला थपलीया लगायतले आइतबार दूरसञ्चार पुगेर बुझाएका छन्। ‘महामारी कहिलेसम्म रहन्छ भन्ने यकिन छैन। पठनपाठन अनलाइनबाट पनि जारी राख्नुपर्नेछ। त्यसैले विद्यार्थीलाई निस्शुल्क इन्टरनेट सेवा दिन माग गरेका हौं,’ उनले भने, ‘कोरोना महामारी अझै कायम रह्यो भने दीर्घकालीन रूपमा अनलाइनबाट पनि शिक्षण सिकाइ क्रियाकलाप जारी राख्नुपर्ने हुन्छ।’









