२२ वैशाख, काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले कोरोना भाइरस कोभिड–१९ चिनियाँ प्रयोगशालामा बनेको ‘पर्याप्त प्रमाण’ रहेको दाबी गरेका छन् । आइतबार एक अन्तर्वार्तामा उनले यस्तो दाबी गरेका हुन् । यद्यपि, उनले आफ्नो आरोप पुष्टि गर्ने कुनै प्रमाण भने दिएका छैनन् ।कोरोना भाइरसको उत्पत्तिलाई लिएर अमेरिका तथा चीनबीच आरोपप्रत्यारोप चलिरहेका बेला अमेरिकी विदेशमन्त्रीले पुनः चीनमाथि आरोप लगाएका हुन् ।उत्कृष्ट विशेषज्ञहरुले यो भाइरस बनाएको र यसमा शंका गर्नुपर्ने कुनै कारण नभेटेको पोम्पेओको भनाइ छ ।
यसअघि गत बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यो भाइरस चिनियाँ प्रयोगशालामा निर्माण गरिएको प्रमाण आफूहरुसँग रहेको बताएका थिए । चीन, डब्ल्यूएचओ र अन्य केही संक्रमक रोग विशेषज्ञहरुले यो भाइरस मानव निर्मित नरहेको बताइसकेका छन् ।सन् २०१९ को अन्तिममा चीनको वुहानबाट निस्किएको कोरोना भाइरसका कारण अमेरिकामा अहिलेसम्म ११ लाख ५० हजारभन्दा धेरै संक्रमित भइसकेका छन् भने ६७ हजारभन्दा बढीको मृत्यु भएको छ । स्रोत : द गार्जियन












