रेलको लाइनमा सुतेका मजदुरमाथि रेल कुद्यो, १४ को मृत्यु

प्रकाशित मिति:

काठमाडौं, वैशाख २६ । भारतमा हिड्दाहिड्दै थाकेर रेलको लाइनमा सुतेका मजदुरमाथि रेल कुदेपछि १४ जनाको मृत्यु भएको छ। चार जना गम्भीर घाइते भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार, महाराष्ट्रको औरंगाबादस्थित रेलवे लाइनमा दुर्घटना भएको हो। एक स्टिल उद्योगमा काम गर्ने १८ मजदुर लकडाउनका कारण आफ्नो घर मध्यप्रदेश फर्किदै थिए।औरंगाबादबाट मध्येप्रदेशका लागि रेल जान थालेको छ। उनीहरु महाराष्ट्रकै जालनाबाट ६० किलोमिटर टाढाको औरंगाबाद रेलवे स्टेसन जाँदै थिए।

प्रहरीको डरले उनीहरु रेलवे स्टेसन पुग्न सडकमार्ग प्रयोग गरेका थिएनन्। उनीहरुले रेलवे लाइन भएर हिडिरहेका थिए। हिड्दाहिड्दै थाकेपछि उनीहरु गएराति रेलवे लाइनमा पल्टिएका थिए।उनीहरु सुतिरहेकै वेला आज बिहान ५ः३० बजे  रेल चलेको थियो। रेलको लाइनमै सुतिरहेका मजदुरमाथि रेल कुदेको भारतीय प्रहरीले जनाएको छ।रेलले किच्दा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ। छेउछाउतिर सुतेका चार जना घाइते भएका छन्। उनीहरुको अवस्था पनि गम्भीर रहेको जनाएको छ।@kathamandupress