काठमाडौं, वैशाख २६ः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना नियन्त्रणमा सरकार पूर्णरुपमा असफल बनेको बताएका छन्। शुक्रबार सुरु भएको संसदको वर्षे अधिवेशनमा बोल्दै कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको बताएका हुन्। देउवाले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत कोरोनाविरुद्ध फ्रन्टलाइनमा काम गर्नेहरुका लागि आवश्यक सुरक्षा सामाग्री प्रबन्ध गर्न नसकेको बताए।
उनले स्वास्थ्य सामाग्री अपुग भएको समचार आइरहेको बताउँदै टेस्टिङ किटको गुणस्तरमासमेत प्रश्न उठेको बताए। अहिलेसम्म स्वास्थ्य सामाग्री अभाव हुनु र खरिद प्रक्रियामा प्रश्न उठ्नु दुस्खद र लज्जास्पद भएको उनको भनाइ छ। विदेशमा रहेका नेपालीहरुको सुरक्षा र उनीहरुलाई ल्याउने सन्दर्भमा सरकारको स्पष्ट खाका नरहेकोसमेत उनको भनाइ छ।विदेशमा रहेका नेपालीहरुको सुरक्षामा ध्यान दिनुपर्छ। आउन चहानेलाई ल्याउनुपर्छ,’ देउवाले भने, ‘विदेशमा समस्या परेका नेपालीहरुलाई ल्याएर राख्न क्वारेन्टाइनको निर्माण गर्नुपर्छ।’मिडिया हाउस, पत्रकार, साना व्यवसायीहरुका लागि सरकारले विशेष प्याकेज ल्याउनुपर्ने उनले बताए।









