बङ्गालको खाडीबाट शक्तिशाली चक्रवात नेपाल आउँदै

प्रकाशित मिति:

काठमाडौं । बङ्गालको खाडीबाट अम्पुन नामको शक्तिशाली चक्रवात नेपाल आउँदैछ । यतिबेला दक्षिण बङ्गालको खाडीको मध्य भागमा अम्पुन चक्रवातले आफ्नो शक्ति बटुलेर अघि बढेको छ । अम्पुन चक्रवात धेरै शक्तिशाली भइसकेकाले त्यसको असर नेपालमा केही दिन तीव्र रूपमा पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।चक्रवात अझ शक्तिशाली हुने क्रममा मङ्गलबार आजबाट पूर्वी नेपालको मौसममा बदली हुँदै नेपाल प्रवेश गर्ने महाशाखाकी मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो ।उहाँका अनुसार त्यस चक्रवातको गति उत्तरपश्चिम हुँदै अघि बढिरहेको छ । उहाँले भारतको पश्चिम बङ्गाल क्षेत्र हुँदै पूर्वी नेपालको पहाडी भूभागमा असर पार्नेछ, त्यसपछि मध्य र पूर्वी नेपालका भूभागमा असर गर्नेछ, जसका कारण त्यस क्षेत्रमा वर्षा हुनेछ भन्नुभयो ।पश्चिम भूभागमा भने त्यसको तुलनामा कम वर्षा हुनेछ । त्यस पछिको दुई÷तीन दिनसम्म देशैभरि बदली भई केही स्थानमा भारी वर्षाका साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातका साथै एक÷दुई स्थानमा भारी हिमपातसमेत हुने सम्भावना छ ।

यस चक्रवातले भुइँ छोएपछि भने यसको असर न्यून हुँदै जाने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । बङ्गालको खाडीबाट आउँदै गर्दा पूर्वी नेपालको उच्च पहाडमा ठोक्किँदै यो मध्य नेपालमा झर्ने छ ।उहाँका अनुसार अम्पुन चक्रवात भारतको उडिसा हुँदै प्रतिघण्टा १३ किलोमिटरको गतिमा उत्तरपश्चिमको बाटोमा अघि बढ्दै छ । उहाँले मङ्गलबार यसको गति १८० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्छ भन्नुभयो ।भारतीय क्षेत्रमा यस चक्रवातको क्षति रोक्न पूर्व तयारी थालिएको छ । जसका लागि पश्चिम बङ्गालमा सात र उडिसामा १० वटा रक्षा टोली परिचालन भइसकेका छन् ।पूर्व मनसुन जाँदै गर्दाको अवस्थामा नेपाल छिर्ने यस चक्रवातले अन्य मौसम प्रणालीलाई समेत सक्रिय बनाउन सक्ने मौसमविद्को अनुमान छ, जसले नेपालमा मनसुन भिœयाउने आवश्यक वातावरण बनाउने छ ।यो सँगै आउने हावाहुरी असिनापानीले जनजीवनमा थप असर गर्न सक्ने भएकाले सतर्क रहन भनिएको छ । पूर्वी पहाडी भेग हुँदै आउने भएकाले विशेषगरी पूर्वी तथा मध्य पहाडी भेगका बासिन्दाले बढी सचेत रहनुपर्ने सुुझाव मौसमविद्को छ । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेख्नुभएको छ ।