निर्माणाधीन गौतमबुद्ध विमानस्थल बाट ६ महिनाभित्रै अन्तर्राष्ट्रिय उडान हुने नागरिक उड्डयन मन्त्री अधिकारीको दावी

प्रकाशित मिति:

निर्माणाधीन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न काम सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थलबाट ६ महिनाभित्रै अन्तर्राष्ट्रिय उडान हुने दावी गरेका छन । मंगलबार निर्माणधीन विमानस्थलको रनवे पिचिंग शुभारम्भ गर्दै मन्त्री अधिकारीले पछिल्लो समय कामले राम्रो गति लिएको र अप्ठ्यारा र धेरै जनशक्ति लाग्ने अधिकांश काम अन्तिम चरणमा पुगेकाले तोकिएकै मितिमा आयोजना सम्पन्न गरी अन्तर्राष्ट्रिय उडान भर्ने बताए ।

आयोजनाकाअनुसार अहिलेसम्म ५ वटा विमान पार्क गर्न मिल्ने गरी पार्किङ्ग एरियाको काम सम्पन्न भइसकेको छ । यस्तै कठिन मानिएका ओभरहेड ट्याङ्की, प्रशासनिक भवन, कन्ट्रोल टावर, धावनमार्ग, अन्तर्राष्ट्रिय टर्मिनल भवन लगायतको काम पनि अन्तिम चरणमा छ । खासगरी विमानस्थल निर्माण गर्दा अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणमा ढिलाई भइरहेको छ । मन्त्री अधिकारीले स्थानीयको भावनाअनुसारै यसैवर्ष ९ अर्ब मुआब्जा वितरण गर्ने र आयोजना सकिन अगावै सबै वितरण गरिसक्ने आश्वासन दिए ।

सन् २०१७ को अन्त्यसम्म निर्माण सम्पन्न हुने गरी २०१५ मा विमानस्थल निर्माण कार्य सुरु भएको थियो । तर विचविचमा आएका अवरोधले विमानस्थल निर्माण कार्य केही पछाडि धकेलिएको थियो । अहिलेसम्म विमानस्थल निर्माण ५५ प्रतिशत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।