नक्सा जारी गर्ने सामुहिक निर्णय भएकाले व्यक्तिलाई देवत्वकरण गर्न जरुरी छैन वामदेव गौतम

प्रकाशित मिति:

काठमाडौं, जेठ ७ । नेकपा उपाध्यक्ष वामदेव गौतमले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित अतिक्रमित नेपाली भूमिलाई समेटेर नयाँ नक्सा जारी गर्ने सरकारको निर्णय पार्टीको सामूहिक निर्णय भएको बताएका छन्।नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टी बैठकमा आफूले राखेको पनि उनको भनाइ छ। यसपटक पनि छुटेका नेपाली भूभाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा मैले नै राखेको हो,उपाध्यक्ष गौतमले भने, ऐतिहासिक तथ्य, प्रमाण र लिखतद्वारा निर्दिष्ट गरिएको आधारमा नेपाल सरकारले हाम्रो देशको नयाँ नक्सा सार्वजनिक गरेको छ। वर्तमान सरकारका अनेकन कार्य आलोचनायोग्य हुँदाहुँदै पनि यो काम भने स्वागतयोग्य छ।

उनले आफ्नो फेसबुक पेजमा सिमाना व्यवस्थापनसँग सम्बन्धित नेपालसँग भएका ऐतिहासिक अभिलेखलाई नक्साले अझ बलियो प्रमाणका रुपमा आत्मसात् गर्दै आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र उर्जा दिने काम भएको पनि बताए।उनले कुनै व्यक्ति विशेषलाई देवत्वकरण गर्न नहुने बताएका छन्। गौमतले भनेका छन, अनुयायीहरु व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन छ। तर, यो निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ। हामीले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुर्छ।सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नक्सा जारी गर्ने निर्णय गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको नेकपा नेता तथा कार्यकर्ता प्रशंसा गरिरहेका छन्। उनले यहि सन्दर्भलाई इंगित गर्दै यस्तो भनाइ राखेका हुन्।