गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकामा दुई जनालाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । गल्याङ नगरपालिकामा पहिलो पटक कोरोना भाइरस संक्रमणको पुष्टी भएको हो । गल्याङ नगरपालिका १, मालुङ्गामा रहेको सार्वजनिक माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका उनीहरुको पिसिआर परिक्षणका क्रममा नतिजा पोजिटिभ आएको गल्याङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख लिला भण्डारीले जानकारी दिनुभयो । परिक्षणका क्रममा गल्याङ नगरपालिका छ र सात का दुई जनालाई कोरोना भाइरसको संक्रमण पुष्टी भएकाले जिल्ला अस्पताल पठाइएको उहाँले स्पष्ट पार्नुभयो ।उनीहरु गएको जेठ ११ गते भारतबाट कपिलवस्तुको कृष्णनगर नाका हुँदै नेपाल आएका थिए । उनीहरुको थप ट्राभल हिस्ट्री अध्ययन भैरहेको गल्याङ नगरपालिकाले जानकारी दिएको छ । यसैवीच, गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले गल्याङमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको भन्दै सचेत रहन आग्रह गर्नुभएको छ ।
उहाँले भारतबाट आएका व्यक्तिमा कोरोनाको संक्रमण देखिएको भन्दै समुदायस्तरमा यसको संक्रमण फैलिन नदिन नगरपालिकाले योजना ल्याएको बताउनुभयो । गल्याङ बाहिर रहेका र नगरपालिका भित्र आउन चाहने नगरवासीलाई व्यवस्थित ढंगले ल्याउने र क्वारेन्टाइनमा राख्ने क्रम भैरहेको भन्दै नगरप्रमुख अधिकारीले धेरै आतंकित नहुन तर सतर्क रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो –‘सम्पूर्ण नगरबासीको अभिभावकत्व कायम गर्न नगरपालिका प्रतिबद्व छ । कोही पनि नगरवासीलाई सतर्क रहन र नआत्तिन आग्रह गर्दछु ।’गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले भारतबाट आउने केही व्यक्तिमा कोरोनाको संक्रमण देखिएको भन्दै समुदाय स्तरमा फैलन नदिन नगरपालिकाले विभिन्न योजना अगाडि सारेको बताउनुभयो । उहाँले भारतबाट आउने क्रम अहिले पनि बढिरहेको भन्दै सबैलाई क्वारेन्टाइनमा व्यवस्थित साथ राखिने जानकारी दिनुभयो ।









