नेता सुध्रिए पार्टीमा जागरण आउँछ – डा शेखर

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसका नेता सुध्रिए पार्टीमा स्वतः जागरण आउने बताएका छन् । नेपाली कांग्रेस चितवन–काठमाडौं सम्पर्क समितिले जागरण अभियानको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले जागरण अभियानका दौरान नेताले गुटबन्दी नगर्ने प्रण लिनुपर्ने बताए ।

‘माथि नेताहरु गुट आधारमा लडिरहने, आफ्नो स्वार्थका लागि दौडिरहने हो भने कार्यकर्ता मात्रै गतिलो भएर पार्टी बन्दैन । कांग्रेसमा कार्यकर्ता गतिला छन्, अब नेता पनि सुध्रेर गतिलो हुनुपर्यो ।’, कोइरालाले भने । उनले कांग्रेसको कमजोरी कांग्रेस नै हुने अवस्थाको अन्त्य गरेमात्रै जागरण अभियान सार्थक हुने बताए । वर्तमान सरकारले प्रेस स्वतन्त्रता र मानव अधिकारको धज्जी उडाएको भन्दै नेता कोइरालाले सरकारको कदमविरुद्ध आन्दोलन गर्न कार्यकर्तालाई नेतृत्वले प्रेरित गर्नुपर्ने बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जागरण अभियान कांग्रेसको आन्तरिक एकता मजबुद पार्नका लागि भएको भन्दै एकताबिना कम्युनिष्टसंगको प्रतिस्पर्धा सहज नहुने बताए । ‘दुई तिहाईको सरकारमा रहेका कम्युनिष्टसंग विभाजित मानसिकताले लड्न सकिन्न । कांग्रेसभित्र एकता भयो भने संसारका कम्युनिष्ट मिलेपनि हामी जित्छौं ।’, पौडेलले भने ।

उनले सरकारका लोकतन्त्र विरोधी कदमबाट जनता हैरान भएको भन्दै कांग्रेसले गाउँगाउँमा पुगेर जनताको हौसला बढाउनेगरी काम गर्नुपर्ने बताए । कांग्रेस नेता एवं पूर्वमन्त्री सुरेन्द्र चौधरीले जागरण अभियानले पार्टीलाई बलियो बनाउने विश्वास व्यक्त गरे । उनले अघिल्लो निर्वाचनमा कम्युनिष्टले जनतालाई भ्रममा पारेपनि अब कम्युनिष्ट शासन देखेपछि जनताले अभिमत बदल्ने बताए ।

नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले कांग्रेसको विश्वविद्यालय सानेपास्थित केन्द्रीय कार्यालय रहेको भन्दै नेताहरुले घरघरमा गुटको कलेज चलाउन आवश्यक नरहेको बताए । चितवन कांग्रेसका सचिव उत्तम जोशीले पार्टी नेतृत्वले जिल्ला नेतृत्वलाई समुचित जिम्मेवारी दिए पार्टीको सक्रियता बढ्ने बताए । कांग्रेसका युवा नेता दिनेश कोइरालाले नेताहरुको दौडाहाले मात्रे पार्टी नसुध्रिने भन्दै अर्थपूर्ण लक्ष्यका लागि कार्यकर्ता परिचालित हुनुपर्ने बताए । सो क्रममा नेपाली कांग्रेस चितवनले प्रकाशन गरेको भित्तेपात्रो सार्वजनिक गरिएको थियो ।

महासमिति बैठक सर्यो भने पार्टी नै खतरामा पर्छ – डा कोइराला

कात्तिक २५ काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले अब पनि पार्टीको महासमिति बैठक सर्ने हो भने सिंगो पार्टी नै खतरामा पर्ने जिकिर गरेका छन् ।

कांग्रेस महासमिति बैठक फेरि एक पटक सरेर मंसिर २८ गते गर्ने भनिएको छ । त्यो मिति पनि सर्यो भने सिंगो पार्टीलाई नै कमजोर बनाउने डा कोइरालाको भनाइ छ ।

उनले विधानमै महासमिति बैठक गर्नु जरुरी रहेकाले निरन्तर सर्दै जाने हो भने त्यसले घाटामात्र हुनेछ भने ।

महासमिति बैठक एक वर्ष सारियो भने सभापति त रहँदैन नै काँग्रेससमेत नरहने खतरा भएको उनको भनाइ छ ।

डा कोइरालाले विधानलाई राम्रो बनाउनेबारे अहिलेसम्म राम्ररी बहस नै हुन नसकेको भन्दै संस्थापन र गुटउपगुट अनावश्यक तरिकाले अगाडि बढेको बताएका छन् ।

उनले संस्थापन पक्ष पदाधिकारी नबढाउने र इतर पक्ष बढाउनु पर्छ भनेर सुरक्षित हुन खोजेको मात्र बताए ।

तर उनले संस्थापनले पदाधिकारी नबढाउने भन्नु हाँस्यास्पद रहेको भन्दै थपे, ‘संस्थापन पक्षले नै पदाधिकारी बढाइरहेको छ । दुई जना उपसभापति बनाइसकेको छ । अब संस्थापनले पदाधिकारी बढाउन पाइँदैन भन्न त मिलेन ।’

उनले विजयकुमार गच्छदारलाई उपसभापति बनाइनु नौलो नभएको पनि बताए । उनले भने, ‘पार्टी मर्ज हुँदा गच्छदारलाई उपसभापति बनाउने सहमति शेरबहादुर देउवाले गरेकाले अहिले गर्नु नौलो नभएको तर एक वर्ष ढिला गर्नु दुर्भाग्य हो ।’

© Sabal Post. 2019 All rights reserved. | Technology Partner: LgmNepal